• गृहपृष्ठ
  • विलाप गर्दै प्रहरीकहाँ पुग्ने पीडित अदालतमा किन फेर्छन् बयान ?

विलाप गर्दै प्रहरीकहाँ पुग्ने पीडित अदालतमा किन फेर्छन् बयान ?

Jul 3rd, 2022

काठमाडौ १९ असार

प्रतिमा सिलवाल

नारायणी नदीमा गत चैत ४ गते नुहाउन गएकी एक बालिकालाई ५८ वर्षका एक पुरुषले बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी पर्यो।

चैत ६ गते बालिका सहित उनकी आमा प्रहरी कार्यालय पुगिन्। प्रहरीलाई पौडी खेल्ने क्रममा नाङ्गै नुहाउन नारायणीको तीरमा पुगेकी बालिकालाई देखि भरतपुर ४ का ५८ वर्षीय नारायण खनालले आफू पनि कट्टु मात्रै लगाएर नारायणी नदी गएको र बालिकालाई बलात्कार गरेको विवरणको जाहेरी दिइन्।

जाहेरी लगत्तै प्रहरीले आरोपित खनाललाई नियन्त्रणमा लियो। प्रहरीले संरक्षकको कागज गरायो। सोही दिन अस्पतालमा ७ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण पनि भयो। बालिकाले पनि आफूलाई कसरी बलात्कार गरे भन्ने विवरण प्रहरीलाई सविस्तार लगाएकी छिन्।

जाहेरी प्राप्त गरेपछि घटना मुचुल्का, साक्षी प्रमाणसहित प्रहरीले जिल्ला न्यायाधिवक्ता मार्फत अदालतमा बलात्कारको मुद्दामा अभियोग लगाई जिल्ला अदालत पेश गर्यो। अदालतको फैसला नआउन्जेल खनाल पुर्पक्षको लागि थुनामा गए।

अदालतमा मुद्दा प्रक्रिया अघि बढ्यो। सुनुवाइका क्रममा बालिका र उनकी आमालाई अदालतले बकपत्रको लागि झिकाए। अदालतमा भने पीडित बालिका र उनकी आमाले प्रहरीलाई भनेको भन्दा ठ्याक्कै उल्टो विवरण दिए।

बालिकाले अदालतको बकपत्रमा भनिन्, पानीमा म डुबेको देखि मलाई निकाल्न जानुभएको थियो। मलाई त्यो बुबाले केही गरेको छैन। मैले प्रहरी अङ्कलको अगाडि पनि त्यस्तो केही गरेको छैन भनेको थिएँ।

उनकी ३७ वर्षीया आमाले पनि आफूले प्रहरीमा बलात्कार भएको भन्ने कुरै नगरेको र आफू पढ्न नजान्ने भएकोले प्रहरीले के लेखे थाहा नभएको। हस्ताक्षर गर भने अनुसार हस्ताक्षर मात्रै गरेको विवरण दिइन्।

घटना विवरण, प्रहरी अनुसन्धान र बालिका बलात्कार जस्तो संवेदनशिल घटनामा आमाले नै बयान फरक दिएपछि जिल्ला अदालत चितवनले बुधबार सो घटनाको आमालाई नै कैद सजाय तोकेर फैसला गरिदिएको छ। जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले घटनाको दाबी प्रमाण नपुग्ने र पीडितले बालिकामाथि बलात्कार जस्तो विषयमा झुट्टा विवरण दिएको भन्दै पीडित बालिकाकी आमालाई नै १५ दिनको कारागार सजाय फैसला गरेका हुन्।

चितवनमा बलात्कारको घटनामा पीडितले नै बयान फेरेर आरोपीले सफाइ पाउने क्रम बढ्दै गएको छ। तर, यसअघि आरोपितले सफाइ मात्रै पाउने गरेपनि यो पटक भने पीडित भनिएका पक्षलाई नै अदालतले झुटो विवरण दिएर प्रहरी र न्यायालयलाई पंगु बनाउन खोजेको भनी कैद सजाय तोकेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनको तथ्यांक अनुसार चितवनमा भएका मध्ये बहुविवाह पछि सबैभन्दा बढी असफल हुने मुद्दा बलात्कारको हो। चालु आर्थिक वर्षको जेठ महिनासम्म जिल्ला अदालत चितवनमा चलिरहेको ९८ वटा बलात्कारका मुद्दामध्ये २६ वटा मुद्दामा आरोपीले सफाइ पाएका छन्।

चितवनका जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार धेरैजसो बलात्कारका मुद्दामा पीडितले बयान फेरेका कारण मुद्दा कमजोर हुने गरेको छ।  केही मुद्दामा प्रहरीले पनि बलियो अनुसन्धान गरेको देखिँदैन।

तिनै मध्येको एउटा मुद्दा हो, गैँडाकोटको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले सोही कलेज पढ्ने छात्रालाई बलात्कार गरेको भनिएको घटना।

बैशाखको १९ गते चितवन प्रहरीमा उक्त कलेजमा पढ्ने १८ वर्ष मुनीको छात्रा आमासहित विलाप गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उनले आफूलाई काफ्लेले प्रयोगात्मक परीक्षामा फेल गराइदिने दबाब दिँदै चितवनका विभिन्न होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन्।

प्रहरीले उनको भनाइलाई भिडियो समेत बनायो। तर, पीडितकी संरक्षक आमा स्वयं भोलिपल्टै जाहेरी फिर्ता लिइदिनुस् भन्दै प्रहरी कार्यालय पुगे। पीडितकी आमाले संरक्षकको कागज गर्न पनि प्रहरीमा गइनन्। प्रहरीले पनि संरक्षकको उपस्थिति बिनाकै मिसिल जिल्ला न्यायाधिवक्ताको कार्यालय पठाइदियो।

बैशाख १९ गते परेको जाहेरी अदालत पेश भएको एक महिना पुग नपुगमै फैसला भयो। जसमा पीडित भनिएकी बालिकाले आफूलाई कुनै किसिमको दुर्व्यवहार नगरेको बकपत्र गरिन्। त्यसैलाई आधार मानेर दाबी प्रमाण नपुग्ने भन्दै अदालतले शिव काफ्लेलाई सफाइ दिएको छ।

सामान्यतया बालबालिकाले आफूमाथि भएको घटना ढाँट्दैन भन्ने मान्यता छ। तर, चितवनमा पछिल्ला बलात्कारका मुद्दामा संरक्षक मात्रै होइन १० वर्ष मूनीका बालिकाले पनि प्रहरी र अदालतमा फरक बयान दिएका छन्।

भरतपुर महानगरपालिका २९ नम्बर वडामा कार्यरत सव इन्जिनियर जीवन पौडेलले ६ वर्षीया बालिकालाई बलात्कार गरेको भनी प्रहरीमा गरेको उजुरीमा बालिका र उनकी आमाले नै प्रहरी र अदालतमा फरक फरक बयान दिए।

इन्जिनियरकै घरमा डेरा गरी बस्ने बालिका र उनकी आमाले खेलाउने क्रममा पौडेलले बालिकालाई फकाएर उनको योनीमा औँला घुसाइ बलात्कार गरेको जाहेरी दिएका थिए।

प्रहरीले तत्कालै जाहेरी लिएर पीडित बालिका र उनकी आमा दुबैजनालाई चितवनकै सुरक्षित आवास गृहमा पठाएको थियो। उक्त आवास गृहकी सञ्चालक मञ्जु खाँडले पटक पटक बालिका र उनकी आमालाई भेट्नको लागि आरोपी पक्षका व्यक्तिहरुले दबाब दिएको पनि सार्वजनिक रुपमा भन्नुभएको थियो।

तिनै बालिका र आमाले अदालतको बकपत्रका क्रममा बालिकामाथि कुनै किसिमको बलात्कारजन्य क्रियाकलाप नै नभएको दाबी गरे। सोही भनाइलाई आधार मानेर जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा रहेका जीवन पौडेललाई यही असार १६ गते बिहीबार सफाइ दिएको छ।

चितवनमा हिंसा प्रभावित बालबालिका पुर्नस्थापना गृह सञ्चालक मञ्जु खाँड भन्नुहुन्छ, ‘अदालतमा बकपत्र ढिलो हुँदा पीडितलाई पैसाको प्रलोभनमा पारेर बयान फेर्ने अवस्था आएको हो।’

यो सायद न्याय र कानुनका सम्बन्धमा गरिनु पर्ने एउटा गम्भीर अनुसन्धानको विषय हो । मञ्जु खाँड भने बलात्कार पीडितले न्यायीक प्रकृयामा पाउने हैरानीलाई यो समस्याको मुल कारण मान्नुहुन्छ। पीडितले आफ्नो जीवन सुरक्षित गर्नको लागि न्याय भन्दा आर्थिक सुरक्षा प्रमुख ठान्दा धेरै बलात्कारका घटनाका पीडित अदालत पुग्दासम्म मानसिकता नै परिवर्तन गर्ने स्थितीमा आइपुग्ने खाँडले बताउनु भयो। स्रोत: आइएनएस स्वतन्त्र समाचार