• गृहपृष्ठ
  • काठमाडौ उपत्यकामा हैजा फैलनुको कारण प्रदुषित पानी

काठमाडौ उपत्यकामा हैजा फैलनुको कारण प्रदुषित पानी

Jun 27th, 2022

काठमाडौ १३ असार

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो।

उनले धारापानी, जार, ट्युबेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए।

उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ।

यस्तै, सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए।

पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौं’, उनले भने, अध्ययनका लागि सबै ठाउँको पानीको नमूना संकलन गरिरहेका छौ।

यस्तै, बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ।

नगरपालिकाले जार, ढुंगेधारा, बोरिङको पानी परीक्षण गरेको थियो।

यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ।

महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सात वटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिए।

उनले महाशाखा र काठमाडौं उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताए।

महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताए।