• गृहपृष्ठ
  • ललितपुर महानगरले २९ वटा हरियाली पार्क निर्माण गर्ने, अरू के छ बजेटमा?

ललितपुर महानगरले २९ वटा हरियाली पार्क निर्माण गर्ने, अरू के छ बजेटमा?

Jun 24th, 2022

ललितपुर १० असार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ।

महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए। गत पाँच वर्षमा महानगरभित्र ८ वटा पार्क बनेको र ६ वटा पोखरीको पुनःनिर्माण भएको थियो।

फोहोर व्यवस्थापन गर्दै सहर सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेसन आधुनिकीकरण गर्ने, फोहोर स्रोतमै वर्गीकरण गर्ने, संकलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ।

फोहोरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्यान्डफिल साइटको अध्ययन गरिने उल्लेख छ।

त्यस्तै साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ।

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पुर्‍याइने महानगरको कार्यक्रममा उल्लेख छ। आगामी आर्थिक वर्षमा उच्च गुणस्तरको अपांगतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ।

ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागू गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ। परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिनेछ भने ढुंगेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ।

दस हजार वर्गफिट वा १७ मिटरभन्दा अग्ला भवनको निर्माणमा महानगरमा सूचीकृत परामर्शदातामध्येबाट तेस्रो पक्ष प्रमाणीकरणको व्यवस्था मिलाइने कार्यक्रममा उल्लेख छ। नगर क्षेत्रभित्र रहेका अव्यवस्थित तारलाई सरोकारवालासँगको समन्वयमा भूमिगत गरिने उल्लेख छ।

बुंगमति र खोकनाको पुरानो बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने र अमूर्त सम्पदाको अध्ययन अनुसन्धानका आधारमा युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइने छ। पर्यटकलाई लक्षित गरी बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालन गरिने र महानगर आउने पर्यटकलाई फर्कंदा यहाँ नै निर्मित हस्तकला चिनोका रूपमा दिइने कार्यक्रम अघि बढाइने प्रमुख महर्जनले बताए।

हस्तकलातर्फ महानगरपालिका वर्ल्ड क्राफ्ट सिटीको सदस्य भइसकेकाले यहाँका स्थानीय हस्तकला विकास, प्रवर्द्धन र बजारीकरणमा जोड दिइनेछ।

महानगरपालिकाले ‘उपमेयरसँग महिला तथा बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ। अपांगता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारका लागि सूचना, सेवा तथा टेवाका लागि सीपमूलक तालिम सञ्चालन हुनेछ। स्थानीयस्तरमा खेलकुदलाई प्रोत्साहन गर्न ए, बि र सी डिभिजन फुटबल टिमलाई प्रोत्साहनका कार्यक्रम समावेश गरिएको छ।

शिक्षातर्फ यहाँका विद्यालय प्रविधिमैत्री बनाउँदै लगिने र अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक, प्रविधि विषय अध्यापन गर्ने शिक्षकबाट विषयगत रोष्टर तयार गरिने कार्यक्रम छ। स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै नेपाल भाषाको कक्षा आठसम्मको पाठ्यपुस्तक तयार गरी क्रमशः कार्यान्वयनमा लगिने भएको छ।

स्वास्थ्यतर्फ महानगरभित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकल, अपांगता भएका र दीर्घरोगीलाई स्वास्थ्य उपचारका लागि ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम सञ्चालन गरिने भएको छ। महानगरभित्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा सञ्चालनका, सुशासनका लागि इ(रेकडिङ र रिपोर्टिङलाई चुस्त बनाउने महानगरको योजना छ।

विपद व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्रीको व्यवस्थापनको कामलाई प्राथमिकता दिँदै आगामी आवमा सामग्रीको व्यवस्थापन गर्न बाँकी सबै वडामा सामग्री भण्डारण गरिने कार्यक्रममा उल्लेख छ। विभिन्न वडामा कृषि उपज प्रवर्द्धन गर्दै सम्भाव्यताको आधारमा निर्यातयोग्य कृषिवस्तुको उत्पादन बढाइनेछ। सहरी क्षेत्रमा कौसी खेती तथा सार्वजनिक जग्गामा फलफूल तथा पुष्प खेती प्रवर्द्धन गर्दै यसलाई हरियाली सहरका रूपमा विकास गरिनेछ।

पशु बीमा कार्यक्रम प्रभावकारी बनाइने र पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा सञ्चालन हुनेछ। सहकारीको अनुगमन र नियमन गरिने र वित्तीय अनुशासन र सुशासनमा जोड दिइनेछ। औद्योगिक ग्राममा पहुँच नभएका तथा समूहमा व्यवसाय सञ्चालनका लागि इच्छुक उद्यमीका लागि माग र आवश्यकताका आधारमा साझा सुविधा केन्द्र सञ्चालन गरिने भएको छ।

महानगरले संस्थागत विकासका लागि विभिन्न कार्यक्रम अघि सारेको छ। स्थानीयस्तरमा नै विवाद समाधानका लागि वडा तहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार हुनेछ। महानगरको संगठन संरचना स्वीकार गरी कार्यरत कर्मचारीको दरबन्दी मिलान गरिने भएको छ। सबै करदाताको तथ्यांक संकलन गरी विवरण विद्युतीय माध्यमबाट डिजिटल प्रणालीमा अभिलेख राखिने र इ–पेमेन्टको नीति अवलम्बन गर्ने महागरको योजना छ।

महानगर प्रमुख महर्जनले आफूहरू नागरिकका शासकका रूपमा नभएर सेवकका रूपमा काम गर्ने बताए। दोस्रो कार्यकाल सकिएपछि पुनः नगर प्रमुखको उम्मेदवार बन्न नपाउने र आफूलाई अझ अघि बढ्न पनि राम्रो काम गर्नुपर्ने उनले बताए।

ुपाँच वर्षमा कमाएको साख जोगाउने छु। ललितपुर हिजो पनि देशको राम्रा पाँच नगरमा रहेको थियो,ु मेयर महर्जनले भने।

नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले निर्धारित समयमा नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुँदा समयको चाप भएको बताइन्।

आगामी आर्थिक वर्षमा महानगरले जनमुखी र परिवर्तनमुखी कार्यक्रम समावेश गरेको उनको भनाइ छ। उनले भनिन्, ुकतिपय विगतमा सञ्चालनमा रहेका कार्यक्रमले निरन्तरता पाएका छन् भने कतिपय नयाँ कार्यक्रम समावेश गरिएको छ।ु

महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षका लागि छ अर्ब ३५ करोड ३५ लाख तीन हजार रूपैयाँ बजेट व्यवस्थापन गरेको छ। रासस