• गृहपृष्ठ
  • ड्रागन खेतीमा आर्कषण , वर्षमा २० लाखसम्म आम्दानी हुने

ड्रागन खेतीमा आर्कषण , वर्षमा २० लाखसम्म आम्दानी हुने

Jun 24th, 2022

दाङ / तुलसीपुर  उपमहानगरपालिका वडा नं १८ को  मैरवा गाउँमा  गरिएको ड्रागन खेती देखेपछि सबै  दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् । 

सो खेती गरेको ठाउँ तुलसीपुर घोराही सडकखण्डको छेउमा पर्ने भएकाले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर्ने हुनु वा निजी मोटर कार तथा मोटरसाइकल चढ्ने हुन सबैले त्यो खेती देखेर अचम्म पर्ने गरेका छन् । केही मोटर रोकेर त्यो खेतीको अवलोकन गर्छन् ।
 
त्यस्तै पैदलयात्रुदेखि जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि तथा बाहिरबाट आउने उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारण सबैले सोध्ने तथा अवलोकन गर्ने गरेको पाइन्छ । वर्षौंदेखि खाली तथा उजाड रहेको त्यो ठाउँलाई अहिले हरियालीमा परिणत गरी जिल्लामा नै पहिलोपटक ड्रागन  फलको खेती गर्ने सफल हुनुभएको छ, पूर्वमन्त्री लोकेन्द्र विष्ट । ५७ वर्षीय उनि विगत चार वर्षदेखि कृषि पेशामा रमाइरहेका छन् । 
 
कुनैबेला बन्दुक बोक्ने उनका हातले अहिले कुटो, कोदालो बोक्ने गरेका छन् । तत्कालीन नेकपा (माओवादी) रहेका विष्टको राजनीतिक यात्रा चारदशकपछि बिराम भएको छ । पार्टीमा नेताका रुपमा परिचित विष्ट सांसद हुँदै दुईपटक मन्त्रीसमेत बनिसकेको छ । तर अहिले उनले यहाँको ५६ कट्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गरेका छन् । 
  
उनले सेतो र रातो जातका सात हजार बिरुवा लगाएका छन् । अहिले ती बिरुवा निकै फस्टाएका छन् । फूल फुलेका छन् । अब साउनदेखि फल दिने उनले बताए । 
  
भितनामबाट सो बिरुवा ल्याएर रोपेको बताउने विष्टले यहाँका जिल्लावासीलाई फलसमेत भियतनामबाट ल्याएर चखाइसकेका छन् । गत फागुनमा तुलसीपुरमा सञ्चालन गरेको महोत्सवमा पनि उनले सो फल तथा बिरुवाबारेमा आम सर्वसाधारणलाई जानकारी होस् भनी कक्षमा पनि राखेको थियो । 
 
सो फल प्रतिकेजी ७५० देखि एक हजार ५०० रुपैयाँमा बिक्री हुन्छ । ड्रागन फ्रुट यो सिउँडी जातको फल हो । यसको नेपालमा पनि उत्पादन भइसकेको छ ।
 
यसलाई ठूलाठूला होटल डेर्जटका रुपमा प्रयोग गरिन्छ । त्यस्तै यसबाट फेसवास, वाइन, जाम, चकलेट बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताए । उनका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा पाँचदेखि सात पटकसम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर पनि रोप्न सकिन्छ । 

त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउनका लगि सिमेन्टको सानो खम्बा त्यसमाथि मोटरसाइकलका पुराना टायर पनि राखिन्छ । यसको खेती तराईदेखि भित्रिमधेस तथा एक हजार ५०० मिटरको अग्लो स्थानमा पनि गर्न सकिन्छ ।

यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टले तीन जनाको रु एक करोडको लगानीमा यो खेती गरेको पनि जानकारी दिए । उनका  अनुसार बर्सेनि फल दिनेक्रम बढिरहेको छ ।

विगतका वर्षमा ३० क्विन्टलसम्म फल बिक्री गरेर एक वर्षमा रु २० लाखसम्म आम्दानी गर्ने गरेको बताएका उनले यस वर्ष ४० क्विन्टलभन्दा बढी ड्रागनफ्रुट भित्र्याउने अपेक्षा लिएको बताए । 

फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”, त्यसले गर्दा यस वर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” उनले भने । 

प्रत्येक लटमा फूल फुलेको २० दिनसम्ममा फल पाकिसक्छ ।  एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ, भने रातो फल ३०० ग्राम तौल हुने गरेको छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागनखेती गरेका हुन् । उहाँले १५ वर्षमा जनही रु चार करोड फाइदा बाँड्ने  आफूहरुको लक्ष्य रहेको पनि बताए । 

उनले अब राजनीतिकमा आफू कहिल्यै नलाग्ने सबै समय कृषिमा दिने र कृषक भई रमाउने बताए । उनले कृषिमा अत्यन्तै राम्रो सम्भावना छ । त्यसमा पनि ड्रागन फलको खेती धेरै राम्रो हो भने । यसको बिक्री मूल्य महँगो छ यसले गरिबी निवारणमा भूमिका राम्रो खेल्न सक्छ उनले भने । 

यसको फूल रातमा फक्रने भएकाले यसलाई ‘रातकी रानी’ उपनामले पनि चिनिने गर्दछ । यो फलको नेपालमा भित्रिएको अहिले १८ वर्ष भएको बताउँदै र अहिले संसार ड्रागन फुटमय भएको बताउँदै उहाले यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले अहिले संसारमा यसको महत्व बढ्दै गएको पनि बताए ।
 
कृषिलाई पर्यटनसँग जोड्न पनि नेपालमा ठूलाठूला फार्म सञ्चालन गर्नुपर्ने विष्टको भनाइ छ । उनि भन्छन्, “कृषि आफैँमा पर्यटकीय गन्तव्य भएकाले नेपालमा बाँझा जमिनमा नयाँनयाँ खेती गर्नसके पर्यटकीय गन्तब्य हुनेछन् ।

 ड्रागन  फलको खेती अवलोकन गर्न पुग्नुभएका बर्दिया जिल्ला गेरुवा गाउँपालिका–३ का ५५ वर्षीय शिवप्रसाद चापागाईंले आफूले पहिलो पटक यस फलको खेती देख्दा अचम्म परेको बताए । 

उनले भने, “मैले त विदेशमा मात्र यसको खेती हुन्छ भन्ने सुनेको थिएँ । दाङमा पनि यसको खेती छ भन्ने थाहा पाएँ र ससुरालीमा आएको मौका छोपी नजिकै ड्रागनको खेती गरिएको छ भनि थाहा पाएँ, त्यसैले अवलोकन गर्न आएको हुँ ।” यो फलको खेतीको महत्व र आम्दानीका बारेमा   आम किसानले थाहा पाउनसके यसको बिस्तार गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै  तुलसीपुर –७ का ७७ वर्षीय खुमानन्द अधिकारीले पनि ड्रागन फलको खेती देख्दा आफू पनि लोभिएको सुनाए । उनले भने, “यो खेती गर्नुभन्दा पहिले त्यो ठाउँ उजाड थियो ।  अहिले गरिएको खेतीले हराभरा गराउनुका साथै सबैलाई यो ठाउँमा कसरी यो खेती भएको होला भन्ने आम नागरिकले सोधेको सुन्दा खुसी लागेको छ ।”  

उनले पनि सो खेतीको अवलोन गर्न तथा खेती गर्ने तरिकाबारे जानकारी लिन महिनामा एक÷दुई पटक जाने गरेको बताए । ड्रागनखेती भित्री तराई–मधेस क्षेत्रमा उपयुक्त हुने गर्दछ । 

एकपटक रोपेको बिरुवाले २०/२५ वर्षसम्म फल दिने जनाउदै विष्टले रोजगारीका लागि विदेशिने युवालाई  रोजगारी दिन देशको अर्थतन्त्रलाई मजबुत बनाउन यस्ता नयाँ खेती गर्नतर्फ सरकारले अभिप्रेरित गर्नुपर्ने बताए । रासस