• गृहपृष्ठ
  • उपत्यकामा फैलन थालेको हैजा रोगको कारण के हो र कसरी बच्ने ?

उपत्यकामा फैलन थालेको हैजा रोगको कारण के हो र कसरी बच्ने ?

Jun 23rd, 2022

काठमाडौं ९ असार

पछिल्लो समय काठमाडौं उपत्यका भित्रका केही ठाउँहरुमा हैजाबाट संक्रमित भएका बिमारीहरु देखा पर्न थालेका छन् ।

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने झाडापखालालाई नै हैजा भनिन्छ । यस ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडा पखाला लाग्ने गर्दछ त्यसलाई कोलेरा अर्थात् हैजा भनिन्छ ।

हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले सङ्क्रमण गरी झाडापखाला लाग्ने गर्छ ।’

हैजा भएका दशमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरुले देखाएको छ । त्यस्तै, घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । लक्षणहरु निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हो । कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षणहरू देखिने गर्दछन् ।

यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ।

हैजाको प्रमुख कारण

भिब्रियो कलेरा नामको ब्याक्टेरियम हैजा मुख्यतया सरसफाइको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ।

कस्तो खानेकुरा खाने?

हैजा भएकाहरुको शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा झोलिलो खानेकुरा खुवाउन चिकित्सकको सुझाव छ । बिरामीको चाहनाअनुसार सफा र ताजा खानेकुरा खुवाउन डा। चालिसेको आग्रह छ । उहाँ भन्नुहुन्छ, “दाल, दही फलफूलको जुस, केराजस्ता खानेकुरा प्रशस्त मात्रामा खुवाउनुपर्छ ।

अस्पतालमा लैजान नसकेमा घरमा नै जीवनजल बनाएर खुवाउनुपर्छ । जति पानी बाहिर निस्कन्छ त्यतिकै मात्रामा जीवनजल खुवाउनुपर्छ ।” जीवनजल नपाउने ठाउँमा पाँच गिलास सफा उमालेर चिसो बनाएको पानीमा छ चम्चा चिनी र आधा चम्चा नुन मिसाएर खुवाउनुपर्छ ।

घरेलु उपचारले पनि निको भएन भने बिरामी बेहोस् होला जस्तो भयो भने, शरीर कमजोर भएमा, पिसाबको मात्रा कम भएमा बिरामीलाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । झाडापखाला लागेपछि जथाभावी औषधि किनेर नखाने चिकित्सकको सुझाव छ ।

हैजा भएको थाहा पाए के गर्ने ?

अलिकति पखाला लागेपछि केही बेर कुरौँ भन्ने चलन हामीकहाँ छ। तर हैजामा एकछिन हेर्छु र बस्छु भन्न थालियो भने कडा खालको हैजा रहेछ भने उनीहरुमा जटिल अवस्था आउने सम्भावना बढेर जान्छ। तत्काल उपचार नगर्ने हो भने बिरामीको मृत्यु समेत हुन सक्छ।

कसरी सुरक्षित हुन सकिन्छ?

“सकेसम्म बासी खानेकुरा र फोहोर पानी नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने जस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने, त्यस अलावा घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरलाई राम्रोसँग विसर्जन गर्ने, समुदायमा पानीको मुहान सफा भए नभएको बेलाबेलामा जाँच गर्नुपर्छ ।”

कति जटिल ?

हैजा भएका विरामीलाई पीडा नहुने भएका कारण अन्य संक्रमण भन्दा यो जोखिमपूर्ण मानिन्छ। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने १० जना हैजाका बिरामी मध्यके एक जनालाई कडा किसिमको हैजाको संक्रमण हुने गर्छ। कडा किसिमको संक्रमण भएका बिरामीले समयमै उपचार नपाउने हो भने उनीहरुको मृत्यु हुने सम्भावना धेरै रहन्छ। अर्को कुरा उपचार अभावमा त्यस्ता बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म हुने भनिएको छ।

के छ उपचार ?

रोग लाग्नु भन्दा पनि रोग लाग्न नदिनु नै उत्तम मानिन्छ। त्यसैले हैजा फैलिनु अगाडि नै यसविरुद्धको खोप लगाउनु सबै भन्दा राम्रो उपाय हो। स्वास्थ्य सेवा प्रभावकारी नभएको ठाउँमा खोप पुर्याउनु अत्यावश्यक हुन्छ।

हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ। विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन। एजेन्सी