संसद बैठक बस्दैः यी हुन् कार्यसूची

Jun 23rd, 2022

काठमाडौँ ९ असार

आज बिहीवार संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७ ०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६, लोकसेवा आयोग विधेयक र २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ‘ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक,२०७९ का भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।