• गृहपृष्ठ
  • ‘निजामती सेवामा चुनौति भन्दा अवसर धेरै’- सहसचिव राधिका अर्याल

‘निजामती सेवामा चुनौति भन्दा अवसर धेरै’- सहसचिव राधिका अर्याल

Jun 19th, 2022

 तारा वाग्ले

काठमाडौ ५ असार

सामान्यतया निजामती सेवामा कार्यरत कर्मचारी सबै पदश्रृंखला पार गर्दै विशिष्ट तहसम्म पुगेका हुन्छन् तर सहसचिव राधिका अर्यालको कथा केही फरक छ शाखा अधिकृतबाट उपसचिव नभै सिधै सहसचिवमा फड्को मार्नुभएकी सहसचिव राधिका अर्यालले हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

२०६१ सालमा शाखा अधिकृतको पदबाट सेवा प्रवेश गर्नुभएकी अर्याल खुला प्रतिस्पर्धाबाट लिखित परीक्षामा एकैपटकमा उपसचिव र सहसचिव दुवै पदमा नाम निकाल्नुभयो। अन्तर्वार्तामा सहसचिवमा नाम निकालेपछि उहाँले उपसचिवको कार्यअनुभव नलिँदै सहसचिव हुनुभएको हो। २०६९ सालमा सहसचिवमा उत्रिर्ण भएसँगै उहाँको खुला प्रतिस्पर्धाबाट परीक्षा पास गरी वृत्तिविकास गर्ने क्रम पनि रोकिएको छ।

करिव १० वर्ष अघिदेखि सहसचिवको भूमिकामा रहनुभएकी अर्याल अव भने बढुवाबाट सचिव बन्ने लाइनमा हुनुहुन्छ।

काठमाडौँको निम्नमध्यम परिवारमा उहाँको जन्म भएको हो । कृषि पेशामा निर्भर परिवारमा संर्घ गर्दै पढेर अर्यालले बनस्पति विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ निजामती सेवामा रहेर काम गर्न पाउँदा गौरव अनुभूति गर्ने सहसचिवको किशोरअवस्थाको रहर भने शिक्षिका बन्ने थियो समयसँगै पेशा बदलिएपपनि केही उदाहरणीय काम गरेर देश र जनतामाझ छुट्टै पहिचान स्थापित गर्ने उहाँको रहर भने कत्तिपनि बदलिएको छैन । नयाँ जोस जाँगर र लगनशीलताको साथ १८ वर्षको निजामती सेवाको यात्रा पूरा गर्नुभएकी सहसचिव अर्यालले कार्यक्षेत्रमा हासिल गरेका अनुभव उहाँकै शब्दमा ः

 बुवा निरक्षर आमा पढ्न सक्ने 

मेरो जन्म काठमाडौँको साविकको गोलढुङ्गा गाँउ विकास समिति वडा नं. ३ हालको तारकेश्वर नगरपालिका वडा नं. ५ मा भएपनि हुर्किने क्रममा र पढ्ने क्रममा समेटेका अनुभवहरू देशका अन्य दुर्गम क्षेत्रका बालबालिकाका जस्तै नै हुन्। कृषि पेशामा आश्रित परिवार थियो हाम्रो ।बुवा निरक्षर हुनुहुन्थ्यो भने आमा अक्षर चिन्न सक्ने हुनुहुन्थ्यो । आमाले हामीलाई धार्मिक पुस्तकहरू वाचन गरेर सुनाउनुहुन्थ्यो ।

म बुझ्न सक्ने बेला सम्म पनि हाम्रो ठाउँतिर सबै छोरीले पढ्ने चलन आइसकेको थिएन। हामीहरु ५ जना दिदीबहिनी र एक जना दाजु मध्ये म भन्दा माथिका ३ जना दिदीहरूले त पढ्नै पाउनु भएन । दाजुले भने पढ्नुभएको थियो ।आफूले पढिसकेपछि बहिनिहरुलाई पनि पढाउनु पर्छ भनेर म र मेरो बहिनीलाई पढ्न प्रेरित गर्नुभयो । उहाँकै शिक्षाप्रतिको जागरणका कारण हामीले पढ्न पायौँ ।मैले १ कक्षा देखि ७ सम्म काठमाडौँको पृथ्वी नारायण मा। वि र ८ देखि एसएलसी सम्म लौनचौरको कन्या मा।विमा अध्ययन गरें । स्कूलमा मेरो पढाइ राम्रो थियो । मैले प्रथम श्रेणीमा एसएलसि उत्तिर्ण गरी बनस्पति विज्ञानमा स्तातकोत्त्तर सम्म अध्ययन गरें । यसका साथै जनप्रशासन संकायमा स्नातकोत्तर तह र जापानको टोकियो विश्‍वविद्यालयवाट सार्वजनिक नीतिमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेको छु ।

 शिक्षिका बन्छु जस्तो लाग्थ्यो 

मैले बिज्ञान विषयमा प्रविणताप्रमाणपत्र तह पढी सकेपछि आफैले पढेको विद्यालयमा पढाउन थालें । भविष्यमा विश्वविद्यालय तहको अध्ययन सकेपछि कलेजमै पढाउछु होला भन्ने लागेको थियो । तर समय संगै लक्ष्य पनि बदलियो। मैलै भर्खरै एमएससीको अध्ययन पूरा गरेको बेलामा साथीहरुले लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन खुलेको छ जाँच दिने होइन भन्न थाले । मैले पनि कोशिष गरे।

पहिलो पटकमा शाखा अधिकृतको प्रारम्भिक परीक्षामा र तेस्रो पटक अन्तिम चरणको परीक्षामा सफलता हासिल गरे र २०६१ सालमा निजामती सेवामा प्रवेश गरेँ । यस क्षेत्रमा प्रवेश गरेपछि शिक्षण पेशा छुट्यो ।

तर अहिले क्षेत्रमा आएर राम्रो गरेछु भन्ने लाग्छ ।निजामतीसेवाजिम्मेवारी भित्र रहेर देश र जनताको हित हुने काममा संलग्न भई आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिन पाउँदा आनन्द र गौरव अनुभव हुन्छ ।

 शाखा अधिकृतपछि सिधै सहसचिव

शाखा अधिकृत भएपछि विभिन्न निकायमा रहेर ७ वर्ष सम्म काम गरेँ । कार्यालयको जिम्मेवारीको साथसाथै आफ्नो वृत्तिविकास प्रति पनि सचेत नै थिए । यसै क्रममा उपसचिव र सहसचिव दुवै पदको लागि खुला प्रतियोगिता मार्फत परीक्षा दिएकी थिएँ । दुबैपदको लिखित परिक्षा नाम निस्कियो ।तर अन्तर्वार्तामा चाहीँ सहसचिवमा मात्र दिएकी थिएँ ।पहिलो पटकमै सफल पनि भएँ । २०६९ सालदेखि सहसचिवको जिम्मेवाारीमा छु ।

 सफलताको श्रेय दाजु, श्रीमान र परिवारलाई

म अहिले जुन स्थानमा छु त्यसको सबै श्रेय मेरा दाजु,श्रीमान र परिवारलाई जान्छ । दाजुले मलाई स्कूल पढ्न पठाउनु भयो र परिवारले पनि यस कदमलाई सकारात्मक रुपमा लिई मेरो विद्यालय तह र विश्वविद्यालय तहको पढाई सम्पन्न गर्न पूर्णरुपमा सहयोग मिल्यो । । मेरो दाजुले सधैं मलाई निजामती सेवामा आउन पनि हौसला दिनुहुन्थ्यो । उहाँ निजामती सेवामा हुनुभएकोले मलाई यस क्षेत्रमा प्रवेश गर्न धेरै सजिलो भएको हो। आजसम्म पनि मैले उहाँवाट सहयोग पाइनै रहेकी छु ।

शाखा अधिकृत भएपछि मात्र मेरो बिबाह भएको हो । श्रीमान अहिले नेपाली सेनाको प्रमुख सेनानी पदमा कार्यरत हुनुहुन्छ। श्रीमानले पनि मलाई अघि बढ्न निरन्तर साथ दिनुभयो । परिवार पनि निकै सहयोगी पाएकी छु। सासु ससुराले पनि बुहारीले घरको मात्र काम गर्ने हो भन्ने सोंच नराखी मेरो वृतिविकासमा सधै सहयोग गर्नुभयो । घरायसी काममा सधाउनुभयो र मैले पढ्ने पर्याप्त समय पाएँ । अहिले पनि मेरो ५ वर्षकी छोरीको हेरचाह गरिदिनुभएको छ । त्यसैले मैले ढुक्कले कार्यालयको काममा मात्र ध्यान दिन पाएकी छु

 
चुनौति भन्दा अवसर धेरै

मैले सेवा प्रवेश गरेदेखि हालसम्म विभिन्न मन्त्रालय,विभाग तथा महाशाखामा रहेर काम गर्ने अवसर पाएँ । शाखा अधिकृत भएपछि श्रम मन्त्रालयबाट काम शुरु गरेकी थिए । पछि सहसचिव भएपछि ५ वर्ष सम्म महिला मन्त्रालयमा काम गरेँ । त्यहाँ काम गर्दा महिला अधिकारका लागि विभिन्न नीति नियम बनाउन र तिनको कार्यान्वयन गर्ने काममा सरिक भएँ । कामकै सिलसिलामा महिला अधिकार सम्वन्धी महासन्धीको कार्यान्वयनको अवस्थााका बारेमा सिड कमिटिमा प्रतिवेदन पेश गर्ने अवसर पाएकी छु ।

निजामती सेवा टिमवर्कमा आधारित भएकोले मैले यति नै काम गरे भनेर मापन गर्न सकिंदैन तर महिला, बालबालिका, अपांगता भएका व्यक्ति, लैङ्गिक हिंसा पीडित महिला तथा किशोरी र ज्येष्ठ नागरिकको हक र अधिकार स्थापित गर्नको लागि काम गर्ने अवसर महिला मन्त्रालयमा प्राप्त भयो । यस पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र वागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा एक एक वर्ष काम गरे । यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्‍न कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर प्रप्त भयो । काम गर्ने क्रममा सहकर्मी तथा सिनियरबाट सधै सहयोग र मार्गदर्शन प्राप्त भयो । कतिपय अवस्थामा काम गर्ने क्रममा चुनौति र अप्ठ्याराहरु आउनु त स्वभाविक नै हो । त्यसैले यस क्षेत्रका चुनौतिको सामना गरी अवसर र सम्भावनामा ध्यान दिएर सोही अनुरुप काम गर्न सकेमा सफलता हासिल गर्न सकिन्छ ।

 महिलालाई  दायित्व बढि, विश्वास कम

अहिले हाम्रो समाजमा महिलाले अधिकार पाउने क्रम विस्तार हुदैछ । राज्यको पनि महिला सशक्त्तीकरणमा ध्यान गएको छ। तर सामाजिक सोचमा भने अझै परिवर्तन भैसकेको छैन।

 जुनसुकै क्षेत्रमा पनि महिलालाई उच्च जिम्मेवारी र सम्वेदनशील तहको जिम्मेवारी दिन आनाकानी गर्ने गरेको देखिन्छ । महिलाले आफ्नो क्षमता प्रमाणित गर्न पुरुष भन्दा बढि नै खटिनुपर्छ ।

अर्को कुरा महिलालाई घर परिवारको जिम्मेवारी,सामाजिक दायित्व र कार्यालयको काम साथसाथै लैजानुपर्ने हुन्छ । यस्तै दोहोरो तेहेरो जिम्मेवारीकैबिच कार्यसम्पादन गरी आफ्नो वृत्तिविकास गर्नुपर्ने हुन्छ । त्यसैले महिलाको सफलताको डोरो उसको परिवारसंग जोडिएको हुन्छ ।

परिवारले साथ र हौसला दिएमा तथा सहयोग गरेमा मात्र महिलाले सफलताको सिंढिहरु सहजैपार गर्न सक्छन् । त्यसैले महिलाको उन्नतिको लागि महिला स्वयंको परिश्रम मेहनत र इच्छाशत्तिको साथै परिवारको पनि हौसला र सहयोग आवस्यक छ ।