• गृहपृष्ठ
  • आज विश्व वातावरण दिवस मनाइदै, वातावरणमैत्री व्यवहारमा जोड दिन प्रधानमन्त्रीको आग्रह

आज विश्व वातावरण दिवस मनाइदै, वातावरणमैत्री व्यवहारमा जोड दिन प्रधानमन्त्रीको आग्रह

Jun 5th, 2022

काठमाडौं २२ जेठ

आज आइतबार विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइँदैछ। यस अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन्। नेपालमा ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ भने ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको छ ।

सन् १९७४ देखि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन थालिएको हो ।
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले यस अवसरमा वातावरण संरक्षणको लागि आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वान गरेका छन्।

वातावरण संरक्षणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘केवल एक पृथ्वी’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जीउनयोग्य एकमात्र ग्रह पृथ्वीको वैशिष्टय र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको प्रधानमन्त्रीको भनाइ छ ।

यस वर्षका लागि तय गरिएको विश्व वातावरण दिवसको नाराको मर्मअनुरूप वातावरणमैत्री व्यवहार र आचरणको अवलम्बन गर्दै सबैको अस्तित्वको एकमात्र आधार पृथ्वीको संरक्षण गर्न यस दिवसले प्रेरणा मिल्ने प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको वताएका छन् ।

समग्र विश्व नै ठूलो वातावरणीय संकटबा गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश र गरिब तथा सिमान्तकृत समुदाय बढीमात्रामा प्रभावित भइरहेको उल्लेख गरेका छन्।

साथै प्रधानमन्त्रीले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको वताएका छन् । उनले हालै संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्न सम्बन्धित सबै निकायको सक्रियता र समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।