• गृहपृष्ठ
  • महिलाको तेहरो भूमिका, मेहनत धेरै, उपलब्धि कमः उपसचिव जानुका सुवेदी

महिलाको तेहरो भूमिका, मेहनत धेरै, उपलब्धि कमः उपसचिव जानुका सुवेदी

May 29th, 2022

तारा वाग्ले

काठमाडौ १५ जेठ

“महिलाको पदीय मर्यादा र हैसियतलाई हेर्ने दृष्टिकोण फरक छ, संकुचित मानसिकता छ, ” निजामती सेवामा २२ वर्षको अनुभवका आधारमा महिला कर्मचारीका अप्ठ्याराका बारेमा उपसचिव जानुका सुवेदी भन्नुहुन्छ, “नेतृत्वकर्ता, सहकर्मी र सेवाग्राही सबैको व्यवहारमा महिलाको पदीय हैसियत र कार्यकुशलता नहेरी केवल हुलियाबाट अवला महिलाको रूपमा आँकलन गर्ने गरिन्छ।”

यतिबेला जिल्ला समन्वय समिति म्याग्दीमा जिल्ला समन्वय अधिकारीको पदमा कार्यरत जानुका सुवेदी भन्नुहुन्छ, ” पदीय मर्यादा अनुरूप व्यवहार एवं संवाद गर्दा आफ्नो अहम् तथा मर्दाङ्गी घटेको महसुस गर्ने र आफ्नो अवमूल्यन भएको ठान्ने मानसिकता छ। महिलाहरू मध्येमा पनि वाणी, व्यवहार, चरित्र, स्वभाव, सौन्दर्य, व्यक्तित्व आदिको प्रभावले अपेक्षित र उपेक्षित हुने समुह छ। महिलाहरूले पारिवारिक, पेसागत र सामाजिक गरी तेहरो भूमिका निर्वाह गर्नु पर्दा धेरै मेहनतबाट थोरै उपलब्धि प्राप्त हुन्छ।”

जानुका भन्नुहुन्छ, ” शारीरिक, मानसिक र भावनात्मक संरचनाले गर्दा कठोर र निर्दयी बन्नुपर्ने ठाउँमा पछाडि परिन्छ। सामाजिक दृष्टिकोण र संस्कृतिका कारणले साहस बढाउने र उत्प्रेरित गर्ने भन्दा दया, अनावश्यक संरक्षण र अविश्वासको कारणले झन कमजोर बनाउने गरेको पनि छ।”

स्याङ्जाको बिरुवा गाउँपालिकाको मध्यम वर्गीय परिवारका ८ सन्तान मध्ये जेठी हो जानुका। छोरीलाई सकेसम्म स्कुल नपठाउने र सानैमा बिहे गरिदिने सामाजिक परिवेशसँग जुध्दै सुवेदीले निष्ठावान् र कर्मशील कर्मचारीको छवि बनाउनुभएको छ। बिहेपछि काठमाडौं कर्मथलो बनाई देशका विभिन्न क्षेत्रमा पुगेर कार्यअनुभव बटुल्नु भएको छ जानुकाले। २०५५ सालमा खरिदारबाट शुरु भएको निजामतीको यात्रामा समेटेका भोगाइलाई उपसचिव जानुका सुवेदी यसरी सुनाउनुहुन्छ।

” पदीय मर्यादा अनुरूप व्यवहार एवं संवाद गर्दा आफ्नो अहम् तथा मर्दाङ्गी घटेको महसुस गर्ने र आफ्नो अवमूल्यन भएको ठान्ने मानसिकता छ। महिलाहरू मध्येमा पनि वाणी, व्यवहार, चरित्र, स्वभाव, सौन्दर्य, व्यक्तित्व आदिको प्रभावले अपेक्षित र उपेक्षित हुने समुह छ। महिलाहरूले पारिवारिक, पेसागत र सामाजिक गरी तेहरो भूमिका निर्वाह गर्नु पर्दा धेरै मेहनतबाट थोरै उपलब्धि प्राप्त हुन्छ।शारीरिक, मानसिक र भावनात्मक संरचनाले गर्दा कठोर र निर्दयी बन्नुपर्ने ठाउँमा पछाडि परिन्छ। सामाजिक दृष्टिकोण र संस्कृतिका कारणले साहस बढाउने र उत्प्रेरित गर्ने भन्दा दया, अनावश्यक संरक्षण र अविश्वासको कारणले झन कमजोर बनाउने गरेको पनि छ।”
सामाजिक विभेदकाबीच शिक्षा

मेरो प्रारम्भिक शिक्षा स्याङ्जाको किचनास प्रा वि बाट, माध्यामिक शिक्षा नवज्योति मा वि बाट र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय र पद्मकन्या क्याम्पस काठमाडौंबाट भएको हो। औपचारिक शिक्षाको कुरा गर्दा मैले व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी छु। पढ्ने बेलाका पनि निकै रोचक कहानीहरू छन्। म स्कुल पढ्ने समयमा गाउँमा छोरा छोरी बिच शैक्षिक विभेद व्याप्त नै थियो। पढाइ प्रतिको मेरो गहिरो लगाव र निरन्तर पढिरहने अडानका कारण पनि मेरो पढाइ रोकिएन। पछि त गाउँमा छोरीले पढ्न पाउने अधिकारको लागि संघर्ष गरेर आफ्नो योग्यता सिद्ध गर्ने छोरीका रुपमा समेत मेरो चर्चा हुन थाल्यो। समाजमा शैक्षिक विभेद भएपनि मेरो बाबुआमा भने मलाई र मेरा दाजुभाइलाई सरह पढ्न प्रेरित गर्नुहुन्थ्यो। त्यो बेलाको समाजिक परिवेश अनुरूप एसएलसी पनि पास नगर्दै मेरो बिहे भयो। म असल, पढे लेखेको, कूल घरानको र सरकारी जागिर खाएको परिवारमा भित्रिएँ। सानैमा बिहे भएपनि श्रीमानको साथ र सहयोगको कारण मेरो व्यक्तित्व विकास र पढाइको यात्रा जारी नै रह्यो। बिहे पछि श्रीमानको सरकारी सेवाको कार्यक्षेत्र काठमाडौंमा आएर पढाइलाई निरन्तरता दिएँ।

सार्वजानिक सेवा नै एक मात्र चाहना

बिहे पछि पारिवारिक जिम्मेवारीको साथसाथै कलेजको पढाई, दुई जना छोराहरू जन्माउने, हुर्काउने र लोकसेवा आयोगको परीक्षाको पनि तयारी गर्ने काम एकै समयमा निर्वाह गर्नुपर्दा कम चुनौतिपूर्ण थिएन, तर पनि म कहिल्यै हार नमान्ने स्वभावको भएकोले आई परेका सबै कठिनाइहरू छिचोलेर निजामती सेवा तर्फको यात्रा शुरु गरेँ। मलाई सानैदेखि यही क्षेत्रमा आउने रहर तथा श्रीमान सरकारी सेवामै हुनु भएको र निकै सहयोगी पनि हुनु भएकोले मलाई पढ्न र सरकारी सेवामा प्रवेश गर्न खासै समस्या भएन। सँगसँगै निर्वाह गर्नु परेका यी तीन वटै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेँ। अन्ततः मेरो सपना साकार भयो। २०५५ सालमा खरिदार र ना सु दुवै पदमा परीक्षा दिएकी थिएँ। चैत्रमा खरिदारको रिजल्ट भयो तीन नम्बरमा नाम निकालेँ र सोही पदबाट सेवा प्रवेश गरेकी हुँ। एक महिना पछि नासुको रिजल्ट हुँदा सफलता मिल्यो। २०५९ मा शाखा अधिकृत पास भएँ। २०७१ मा उप सचिव भएँ र अहिलेसम्म यही पदमा कार्यरत छु।

म जन्मेहुर्केको समाजमा त्यो बेला हामी जस्ता आम मानिसको एक मात्र चाहना सार्वजनिक सेवा नै हुन्थ्यो। अन्य पेशा र जीविकोपार्जनका उपायहरूमा लगानी, अनुभव, इज्जत प्रतिष्ठा, पहुँच, आकर्षण, रूचि जस्ता आआफ्नै वाध्यता र सीमितता थिए। योग्यताको प्रतिस्पर्धात्मक परीक्षामा लोकसेवा आयोग नै एकमात्र निष्पक्ष र भरोसायोग्य संगठन भएकोले स्वभाविक रूपमा यतातिर ध्यानाकर्षण भयो। सानैदेखि साहित्यमा रूचि भएकोले जीवन लक्ष्यको मूलधारमा त साहित्य नै रहेको छ, तर जीविकाको लागि निजामती सेवा रोजेको हुँदा यस प्रतिको निष्ठा कम हुन दिएकी छैन। यो सेवा भित्रका सबैखाले जिम्मेवारी, भूमिका र तीता मिठा भोगाइहरूबाटै नयाँ नयाँ ज्ञान, अनुभव र खुशी मिलेको छ।

आफ्नो हिस्साको योगदान गर्न पाउँदा सन्तुष्टी

पहिलो कार्यअनुभव निकै रमाइलो छ। खरिदार भएको एक महिना पछि नासु पास भएँ। अनि स्थानीय विकास मन्त्रालयमा विकास गतिविधिहरू र विकेन्द्रीकरणका विषयमा जान्ने र काम गर्ने अवसर मिल्यो। धेरै आयाम भएको मन्त्रालय विकास, विकेन्द्रीकरण, भौगोलिक विविधता, गरिबी, महिला विकास, समावेशी अवस्था, दातृ निकायहरूसँगको सहकार्य जस्ता विषयहरूमा काम गर्दाका अनुभवहरू एउटा बेग्लै युगको अनुभुति गराउने खालका छन्। स्थानीय विकास मन्त्रालयमा विकेन्द्रित स्थानीय स्वायत्त शासनको प्रयास, राष्ट्रिय योजना आयोगमा नीति तथा आवधिक योजना सम्बन्धी विषयमा सघन अभ्यासहरू गर्न पाइयो। चौध जिल्लाबाट पूर्ण निक्षेपणको सुरुवात जस्ता प्रयासहरूमा योगदान गर्ने मौका मिल्यो, यसबाट नै केन्द्रीकृत शासनको समीक्षा गरी संघीयताको बाटो पहिचान गर्न सहज भयो। स्वास्थ्य तथा जनसंख्या सम्बन्धी विषयमा पाँच जिल्लाबाट शुरु गरेको जनसंख्या व्यवस्थापन कार्यक्रम ७५ जिल्लामा विस्तार गर्ने, पन्ध्र जिल्लामा हिंसा पीडित महिलाको लागि एक द्वार संकट व्यवस्थापन केन्द्र खोल्ने जस्ता कार्यमा योगदान गर्न पाइयो। जिल्ला निर्वाचन कार्यालय रसुवामा बसेर निर्वाचन सम्बन्धी विषयहरूमा कार्य गर्ने अवसर मिल्यो। शान्ति तथा पुनर्निर्माण सम्बन्धमा कार्यान्वयन हुन नसकेका आयोजनाहरू कार्यान्वयन गर्ने तथा द्वन्द्व व्यवस्थापन र दिगो शान्ति प्रक्रियामा योगदान गर्ने मौका मिल्यो। संघीयता पछि स्थानीय तहमा बसेर स्थानीय प्रशासन, सेवा प्रवाह, विकास र विषयगत क्षेत्रहरूमा सेवा गर्ने अवसर पाएँ। जहाँ बसेर काम गर्दा पनि सुशासन र संस्थागत सुधारका लागि प्रयासहरू भए। विभिन्न पहलहरूबाट अनेक सीमितताका कारण चाहे जस्तो उपलब्धि नभए पनि आफ्नो हिस्सामा पर्ने योगदान गर्न पाएकोमा सन्तुष्टि छ।

समस्यासँग निरन्तर साक्षात्कार

समस्याबाटै कामको सृजना हुने भएकोले काम गर्दा पनि समस्या नहुने कुरै भएन। सरकारी सेवाको कुरा गर्दा समस्या भएपछि त्यस सम्बन्धी कानुन नीति तथा कार्यक्रम बनाइन्छ। तिनको कार्यान्वयनको क्रममा पुन समस्या पर्छ। समस्या त सधैँ चक्रको रूपमा चलिरहेको हुन्छ। मैले पनि कार्य सम्पादनको क्रममा समस्याहरू झेल्नुपरेको छ। कहिले गर्न आवश्यक देखेको कुरामा कानुन अपर्याप्त हुन्छ, कहिले श्रोत साधनले भ्याउदैन, कहिले समन्वय बलियो भएन भने पनि कामले गति लिन सक्तैन। समस्याको सृजना वा समाधान र सहजिकरणमा सञ्चार संवाद र दवावमूलक उपस्थितिको पनि ठूलो प्रभाव रहन्छ। कार्यमा संलग्न टिमको कार्य कुशलता, क्षमता जस्ता पक्षहरू उत्तिकै जिम्मेवार हुन्छन्। यस्ता किसिमका समस्याहरू, सीमितता र जन अपेक्षा बीचको दवावमूलक परिस्थितिमा रहेर चुनौतिहरूको सामना गर्दै जिम्मेवारी पूरा गर्नु र अधिकतम नतिजा निकाल्न प्रयत्नशील रहनु नै प्रशासन संयन्त्रको दैनिकी हो। मैले पनि यस्तै परिस्थितिहरूसँग साक्षात्कार गरिरहेकै छु।

नतिजामुखी सेवाको आनन्द

सबैभन्दा ठुलो अवसर त सार्वजनिक सेवामा बसेर जनसेवा गर्न पाउनु नै हो। देश विदेशका प्रशासनिक गतिविधिहरू जान्ने, बुझ्ने, अवलोकन गर्ने र नीति योजनाहरूमा समावेश गरी कार्यान्वयन गर्ने गराउने अवसर मिलेको छ। जापान, थाइल्याण्ड, भारत जस्ता देशहरूमा गएर त्यहाँका योजना र अनुगमन प्रक्रिया, वातावरण, उद्योग व्यवसाय र स्वास्थ्य सम्बन्धी विषयहरूमा बुझ्ने र राम्रा अभ्यासहरूलाई नेपालमा अनुकूलता अनुसार नीति तथा योजनाहरू मार्फत सम्बोधन गर्ने अवसर मिल्यो। स्वदेशका करिब सत्तरी जिल्लाहरूमा पुगेर त्यहाँका विकास प्रक्रिया, शिक्षा स्वास्थ्यको अवस्था, गरिबी, समावेशी विकास, स्थानीय तहको आवश्यकता जस्ता कुराहरूको अध्ययन अवलोकन गर्दै ती विषयहरूमा सुधारका लागि विकास तथा योजना प्रकियामा समावेश गरी कार्यान्वयन गर्ने अवसर पाएँ। जहाँसम्म उपलब्धिको कुरा छ मेरो कर्मको नतिजा सेवाग्राहीले प्राप्त गरे र थोरै भए पनि खुशी महसुस गरे भने त्यसैमा मेरो सार्थकता ठान्छु। कर्मयोगी भै इमानदारीपूर्वक काम गर्दाजुन आनन्द हुन्छ त्यही नै मेरो ठूलो प्राप्ति हो। पद, प्रतिष्ठा जस्ता उपलब्धीको कुरा गर्ने हो भने त मानिस सधैँ अतृप्त नै रहन्छ। एक पछि अर्को आवश्यकता सृजना हुँदै जान्छ र असन्तुष्टिको कहिल्यै नटुङ्गिने चक्र चलिरहन्छ। त्यसैले अरुको सफलता, प्राप्ति र खुशीलाई आफ्नो सफलता र प्राप्ति ठान्न सकियो भने सधैँ खुशी र आनन्द मिल्दो रहेछ।

सही मुल्याङ्कनबाट उत्कृष्ट नतिजा

कानुनको दायरामा बसेर इमानदारीपूर्वक सार्वजनिक हितको लागि असल काम गर्दा कानुन, जिम्मेवार निकाय वा संस्था तथा उत्तरदायी अधिकारीहरू एवं नेतृत्व तहले उत्प्रेरित गर्ने, मनोबल बढाउने र संरक्षण गर्ने गर्नुपर्छ, तर यदाकदा निहित स्वार्थ, दवाव र पहुँचको आधारमा असल काम गर्नेको सही मुल्याङ्कन नगरी गलत कार्यको संरक्षण गर्ने तथा उक्साउने गर्दा राम्रो काम गर्नेले हीनताबोध गर्नुपर्ने अवस्था छ। मैले सेवा अवधिमा यी दुवै अवस्थाहरू भोगेकी छु। आफ्नो सही कामको पछाडि कानुन र जिम्मेवार पदाधिकारी र संस्थाबाट संरक्षण भै दियो भने ठूला चुनौतीहरू पनि सामना गर्न सकेका अनुभवहरू पनि छन्। सामान्यतया सार्वजनिक कार्य सम्पादनको क्रममा असल नियतमा प्रश्न चिन्ह लाग्दा र अग्नि परीक्षाहरू पार गर्नुपर्दा सामान्य मानिसलाई दुख लाग्नु र गुनासोहरू हुनु स्वभाविक हो, तर गुनासो कहाँ गर्ने र कसरी सम्बोधन हुन्छ, न्यायसंगत ढंगले हुन्छ कि हुँदैन भन्ने मूल कुरा हो। अराजकता, चलखेल र दुराचारहरूको बाहुल्य भै विभिन्न किसिमका मोलाहिजा र प्रभावले विषयवस्तुको गाम्भीर्यता र वास्तविकता बुझ्न दिइएन भने गुनासो गर्नुको कुनै पनि कुनै अर्थ छैन।

आरक्षणको व्यवस्था शिक्षा र अवसरबाट वञ्चित भएकालाई माथि उकास्न सहायक भएको छ तर यसका नकारात्मक पक्षहरू पनि छन्। यसले प्रतिस्पर्धात्मक क्षमता र आत्मसम्मान घटाउँछ, सरकार माथिको निर्भरता र हीनताबोध बढाउँछ। यो दिगो समाधान होइन, दृढ इच्छाशक्ति भयो भने आफैँले अवसर जुटाएर चुनौति र समस्यासँग जुधेरै लक्ष्य प्राप्त गर्न सकिन्छ। चुनौती भएपनि यो क्षेत्रमा राम्रा सम्भावना र अवसरहरू छन्।
टालटुले र वाचाले

अहिलेसम्म काम गर्ने क्रममा जोडिएका हरेक पक्षबाट राम्रो रेस्पोन्स पाएकी छु। संगठन एवं मूल्याङ्कनकर्तालाई गौरवको हुने गरेर नै कार्य सम्पादन भएको छ। हालसम्मको सेवा अवधिमा सेवाग्राही र सहकर्मीहरू पनि सन्तुष्ट छन्, तर इमानदारिता लगनशीलता र मेहनेत भन्दा देखावटी, टालटुले र वाचाले कुराले प्रभाव पार्ने प्रवृत्ति विद्यमान हुँदा विना कारण र अनाहकमा अवाञ्छनीय प्रभावहरूको शिकार पनि बन्नुपर्छ। निर्णयकर्ता तथा मूल्याङ्कनकर्ताले पनि प्रणालीगत कमजोरी र आफ्नो वृत्ति विकासमा धक्का लाग्ने डरले इच्छा नहुदाँनहुँदै पनि अवान्छित प्रभावमा पर्ने गरेको पनि पाएकी छु।

आफैँले अवसर जुटाएर अघि बढ्ने

राज्यले महिलाको प्रतिनिधित्व बढाउन आरक्षणको व्यवस्था ल्याएको छ। शिक्षा र अवसरबाट वञ्चित भएकालाई माथि उकास्न सहायक भएको छ तर यसका नकारात्मक पक्षहरू पनि छन्। यसले प्रतिस्पर्धात्मक क्षमता र आत्मसम्मान घटाउँछ, सरकार माथिको निर्भरता र हीनताबोध बढाउँछ। यो दिगो समाधान होइन, दृढ इच्छाशक्ति भयो भने आफैँले अवसर जुटाएर चुनौति र समस्यासँग जुधेरै लक्ष्य प्राप्त गर्न सकिन्छ। चुनौती भएपनि यो क्षेत्रमा राम्रा सम्भावना र अवसरहरू छन्। सेवामुलक पेशाको लागि यो उत्तम र गौरवको क्षेत्र हो। सरकारी संरचना, कानुनको पालनकर्ता, निमुखाको संरक्षक, नीति योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनको भूमिका, सेवाको सुरक्षा, फराकिलो दायरा, समूह कार्य र सहकार्यको अवसर, देश विदेशका समग्र गतिविधिहरू जान्ने बुझ्ने र व्यवहारमा लागू गर्न र गराउन सक्ने दायरा जस्ता कुराहरू यो क्षेत्रका आकर्षण हुन्। सादा जीवन र उच्च विचार भएका, सुख सयलमा ठूलो अपेक्षा नहुने, यश आराम र विलासितामा भुल्न मन नपराउने, स्वावलम्बी र कर्मठ व्यक्तिलाई निजामती सेवा सर्वोत्तम पेशा हो। कर्मयोगी महिलाहरूलाई यो सेवा भित्रका हरेक उपस्थितिहरूमा सन्तुष्टि मिल्छ – स्वतन्त्र समाचार