अन्तिम खेलमा पीएसजीको शानदार जित

May 22nd, 2022

काठमाडौं ,८ जेठ

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको आफ्नो अन्तिम खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मेट्जलाई ५-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे भने नेमार र एन्जेल डि मारियाले एक-एक गोल गरे।

खेलको २५ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको २८ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ३१ औँ मिनेटमा नेमारले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ५० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ४-० ले अघि बढाए।

खेलको ५८ औं मिनेटमा मेट्ज १० खेलाडीमा समेटिएको थियो ।मेट्जका बुबाकर ट्राओरेले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि खेलको ६७ औं मिनेटमा पीएसजीका एन्जेल डि मारियाले गोल गर्दै टोलीलाई ५-० को शानदार जित दिलाए ।

जितसँगै पीएसजीले ३८ खेलबाट ८६ अंक जोड्यो छ र शीर्ष स्थानमा १५ अंकको अग्रता बनायो।पीएसजीले चार खेल अगाबै उपाधि जितेको हो। यससंगै पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।मेट्जले ३८ खेलबाट ३१ अंक जोड्यो ।