युभेन्ट्स र लाजियोको बराबरी

May 17th, 2022

काठमाडौं,३ जेठ

इटालियन सिरी ए फुटबलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स लाजियोसँग बराबरीमा रोकिएको छ ।सोमबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा लाजियो र युभेन्ट्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेका हुन्।

खेलमा युभेन्ट्सको लागि दुसान भ्लाहोभिक र अल्भारो मोराटाले एक-एक गोल गरे ।लाजियोको सर्गेज साविकले एक गोल गरे भने लाजियोले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो । खेलको दशौं मिनेटमा दुसान भ्लाहोभिकले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए।

खेलको ३६ औं मिनेटमा युभेन्ट्सका अल्भारो मोराटाले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ५१ औं मिनेटमा युभेन्ट्सका एलेक्स स्यान्ड्रोले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा फर्कियो।

त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा लाजियोका सर्गेज साविकले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सको ३७ खेलबाट ७० अंक छ र तालिकाको चौथो स्थानमा छ। लाजियोको ३७ खेलबाट ६३ अंक छ र पाँचौं स्थानमा छ ।