• गृहपृष्ठ
  • बुद्ध जयन्ती र उभौलीका अवसरमा मुख्यमन्त्रीको शुभकामना

बुद्ध जयन्ती र उभौलीका अवसरमा मुख्यमन्त्रीको शुभकामना

May 16th, 2022

पोखरा, २ जेठ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै गौतम बुद्धद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्नसके मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किने बताएका छन् । गौतम बुद्धको २५६६ औँ जन्मजयन्ती र किराँत धर्मावलम्बीको उभौली पर्वका पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै शान्ति, सुस्वास्थ्य, दीर्घायु, विश्व वन्धुत्वका साथमा समृद्धिका लागि कामना गरेका छन् ।

मुलुक भित्र र बाहिर रहेका विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएको शुभकामना सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘पवित्रस्थल लुम्बिनीमा जन्मनु भएका बुद्धका सन्देशलाई विश्वभर फैलाउनुका साथै उहाँको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न हामी सबै लाग्नुपर्नेछ ।’

बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण गरी ४ संयोग परेको यसै दिन अर्थात् वैशाख शुक्ल पूर्णिमामा किराँत धर्मावलम्बीहरुको पवित्र उभौली पर्व मनाउने परम्परा छ । मुख्यमन्त्री पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गरेका छन् । यस्ता पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास लिएको उनले जारी गरेको सन्देशमा उल्लेख छ ।उनले भनेका छन्, ‘बुद्ध जयन्ती एवं उभौली पर्वले सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’