• गृहपृष्ठ
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा प्रधानमन्त्री देउवाले गरे स्वागत

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा प्रधानमन्त्री देउवाले गरे स्वागत

May 16th, 2022

काठमाडौ २ जेठ

लुम्बिनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आएका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधि सहित आएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा स्वागत गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई हार्दिक स्वागत गरेका थिए ।

हेलिकोप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे । यसपछि भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको छ ।

मोदी बिहान ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमिपूजामा सहभागी हुने, मध्याह्न १२ः२० परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गर्ने, दिउँसो १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः३० मा प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने कार्यतालिका छन् ।

यस्तै, दिउँसो २ बजे विशेष व्यक्तित्वहरूसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्धजयन्ती सेलिब्रेसनमा सहभागी हुने र साँझ ५ बजे स्वदेश फर्किने कार्यतालिका छ ।