• गृहपृष्ठ
  • प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा

प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा

Apr 30th, 2022

तारा वाग्ले 

काठमाडौ १७ बैशाख

महिलाहरूको लागि निजामती सेवा र शिक्षण पेशा नै सुरक्षित, भरपर्दो र सम्मानित छ भन्ने आम सोच छ । आफ्ना छोरीहरूले शिक्षा सेवामार्फत वा निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरुन् भन्ने चाहना धेरै अभिभावकको हुन्छ । छोरीहरू सरकारी सिन्दुर पहिरिएर सरकारको कुर्सीमा बसी राज्यको सेवा गरेको हेर्ने सपना प्रायः अभिभावककले साँचेका हुन्छन् । त्यसैले त कतिपय महिलाहरू आफ्ना अभिभाववको सपना पूरा गरिदिन त कतिपय आफ्नो रुचि र योग्यता अनुरूपको काम गरेर राज्यको लागि योगदान दिन निजामती क्षेत्रमा पाइला लम्काइरहेका छन् । एक पटक आफ्नो योग्यता प्रमाणित गरेर निजामती सेवामा प्रवेश गरिसकेपछि जीवनभर ढुक्क हुने भएपछि यस क्षेत्रमा महिलाको आर्कषण बढ्दै गएको हो ।
कुनै परिवारको एक महिला सरकारी सेवामा प्रवेश गरिन् भने त्यो परिवारको सम्पूणर् सदस्य खुसी र सन्तुष्ट हुने महत्वपूर्ण माध्यम बन्न पुग्छ । अरु क्षेत्रमा कुनै महिला प्रवेश गरिन् भने उनी त खुशी वा सन्तुष्ट हुन सक्छिन् तर परिवारका सबै सदस्यलाइ खुशी वा सन्तुष्ट पार्न भने उनलाई निकै मुस्किल पर्छ ।
हाम्रो समाजमा आफ्ना छोरीचेली वा दिदिबहिनी निश्चित समयावधि भएको, आर्थिक रूपमा सवल र सामाजिक रूपमा सम्मानित पेशामै आवद्ध भएको हेर्ने रहर धेरैमा छ । त्यसैले पनि सरकारी सेवामा संलग्न महिलाले परिवारबाट पूणर्रूपमा सहयोग, समर्थन र हौसला पाएका हुन्छन् । फलस्वरूप यस क्षेत्रमा महिलाहरूलाई प्रवेश गर्न, प्रवेश गरिसकेपछि वृत्तिविकासको मार्ग तय गर्न सहज हुन्छ । त्यस्तै सरकारले पनि निजामती सेवामा महिलाको प्रतिनिधित्व बढाउन विभिन्न हकअधिकार तथा विशेष व्यवस्था सुनिश्ति गरिदिएको छ । जसका कारण धेरै महिलाले आफ्नो योग्यता र क्षमता प्रर्दशन गरी कर्मचारी प्रशासनको उच्च तहसम्म पुग्न सफल भएका छन् ।
यही परिवेशमा बिहेअघि पिताको क्षत्रछाँयामा ज्ञानसिप र योग्यता हासिल गर्ने अवसर पाउनुभएकी र विहेपछि श्रीमानको सहयोग र मार्गदर्शनमा योग्यता प्रमाणित गरी निजामती सेवामा प्रवेश गर्नुभएकी उपसचिव राधा देवकोटाले इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा आफूलाई स्थापित गर्नुभएको छ । २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएकी देवकोटा गत माघमा कार्यक्षमताको आधारमा बढुवा भई उपसचिव हुनुभयो । आफ्नो जिम्मेवारीभित्र रहेका काम इमान्दारीपूर्वक पूरा गरेको कारण दुई पटक पुरस्कार पाउन सफल देवकोटा हाल नापी विभागमा कार्यरत हुनुहुन्छ । उहाँले यस क्षेत्रमा रहेर सँगाल्नुभएका अनुभव उहाँकै शब्दमाः

सानैदेखिको रहरः सरकारी सेवामा आउने
निजामती सेवाको यात्राले १३ वर्षदेखि निरन्तरता पाउँदै आएको छ । सरकारी सेवामा प्रवेश गरी नेपाल सरकार र जनताको सेवा गर्ने रहर सानैदेखि थियो । बिहेअघि पढाइ पूरा गर्ने र सरकारी सेवा मार्फत शिक्षण पेशामा आवद्ध हुने सोच थियो तर बिहेपछि पारिवारिक पृष्ठभूमि, वरपरको परिवेश र शैक्षिक वातावरणले निजामती सेवामा प्रवेश गर्ने मौका जुर्यो । मैले गणित विषयमा स्नातकोत्तर गरेकी हुँ । मैले विहे अघि नै आवश्यक शैक्षिक योग्यता प्राप्त गरिसकेकी थिएँ । मेरो बुबाको प्रेरणा र मार्गदशन अनुरूप देश र जनताको हित हुने केही न केही काम गर्नुपर्छ भनेर पहिले आफ्नो योग्यता र क्षमताको विकास गर्नेतर्फ आफूलाई केन्द्रित गरें ।


पहिले मेरो रुचि शिक्षण पेशामा थियो । आफूले अध्ययन गरेको विषयमा सरकारी तवरबाटै अध्यापन गराउने सोच मोडिए पनि आफूले आर्जन गरेको ज्ञान र सिप सरकारी सेवाकै लागि उपयोग गर्न पाइन्छ भन्ने लागेर निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरें । पढाइ पूरा भएसँगै सरकारी सेवामा संलग्न परिवारसँग मेरो नाता जोडियो । यसपछि मेरो लक्ष्य अनुरूप सरकारी सेवा गर्ने सानैदेखिको रहर पूरा गर्ने मार्गहरू खुल्दै गए ।


पहिले मेरो रुचि शिक्षण पेशामा थियो । आफूले अध्ययन गरेको विषयमा सरकारी तवरबाटै अध्यापन गराउने सोच मोडिए पनि आफूले आर्जन गरेको ज्ञान र सीप सरकारी सेवाकै लागि उपयोग गर्न पाइन्छ भन्ने लागेर निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरें । पढाइ पूरा भएसँगै सरकारी सेवामा संलग्न परिवारसँग मेरो नाता जोडियो । यसपछि मेरो लक्ष्य अनुरूप सरकारी सेवा गर्ने सानैदेखिको रहर पूरा गर्ने मार्गहरू खुल्दै गए । फलतः नेपाल सरकारको कर्मचारी भएर राज्य र जनताको सेवाप्रति सक्रिय रहने यात्रा तय भयो । मैले दुई वर्षसम्म लगातार लोकसेवाको तयारी गरेकी थिएँ । मैले २०६६ सालदेखि यस क्षेत्रको यात्रा थालेकी हुँ । म हाल उपसचिवको रूपमा नापी विभागमा कार्यरत छु ।
सहयोग श्रीमानको सपना मेरो
हरेकका आ-आफ्नो सपना हुन्छन् । तिनलाई पूरा गर्ने जिम्मेवारी व्यक्ति स्वयम्को त हुने नै भयो तर उसको सहयात्रीको भूमिका पनि उत्तिकै हुन्छ । जीवनका हरेक मोडहरू सँगसँगै पार गर्ने भनेर विवाह बन्धनमा बाँधिइसकेपछि एक अर्काको साथ र सहयोग पर्याप्त भएमा जस्तोसुकै चुनौती पनि सामना गर्न सकिन्छ ।
एक अर्काको सहयोग भएमा सपनाहरू पूरा गर्न पनि सहज हुन्छ । मेरो व्यक्तित्व विकासमा श्रीमानको अमूल्य सहयोग मिलेको छ । जसको कारण म आज यस स्थानमा आइपुगेकी छु । मलाई यसरी स्थापित गराउन मेरा आमाबुबाको पनि ठूलो भूमिका छ । उहाँहरूले पढ्ने अवसर दिएर मलाई योग्य बनउनुभयो भने श्रीमानले आफ्नो योग्यता अनुरूप प्रतिस्पर्धा गरेर अघि बढ्न सहयोग गर्नुभयो ।
महिला भएको कारण पूरा गर्नुपर्ने परिवारिक तथा सामाजिक दायित्व सँगसँगै सन्तान जन्माउने, हुर्काउने र आफ्नो करियर निर्माण गर्नेसम्मका काम पनि सँगसँगै चलिरहेका थिए । कहिलेकाहीं त्यस्ता जिम्मेवारीले लोकसेवाको तयारीमा अवरोध आउँथ्यो तर हार नमानी पढाइ जारी राखें । साथै श्रीमानको सहयोग, समर्थन र प्रेरणाको कारणले म शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्न सफल भएँ । उहाँको सहयोग नभएको भए जीवनका सबै खुट्किला पार गर्दै आफ्नो करियर निर्माण गर्न पक्कै पनि कठिन हुन्थ्यो । मेरो श्रीमान पनि यही क्षेत्रमा सहसचिवको रूपमा कार्यरत हुनुहुन्छ । दुवै जना मिलेर घर परिवार र कार्यालयको जिम्मेवारी सँगसँगै निर्वाह गर्दै आएका छौं ।
नीति निर्माण र कार्यान्वयनसम्बन्धी गहन अध्ययन
म शाखा अधिकृत भएपछि खानेपानी तथा ढल निकास विभागमा आवद्ध भएँ । मैले आफ्नो क्षमताले भ्याएसम्म निरन्तर इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरें । त्यहाँ मैले कर्मचारी प्रशासन शाखा हेर्थें । कर्मचारी सम्बद्ध कानुन तथा नीतिको साथसाथै समग्र कर्मचारी प्रशासनप्रतिको ज्ञान आर्जन गर्ने अवसर मिल्यो । साथै मैले त्यहाँ काम सिक्ने अवसर पनि पाएँ । त्यहाँ इमान्दारीपूर्वक काम गरेका कारण सो कार्यालयबाट सम्मान तथा पुरस्कार पनि पाएँ । यसले मलाई थप ऊर्जा र प्रेरणा मिल्यो ।
केही वर्ष सो विभागमा कार्य गरेपछि मेरो प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भयो । मैले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भयो । त्यतिवेला संघीय शासन व्यवस्थामा प्रशासन पुनर्संरचना सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी थियो । मैले माथिल्लो तहका पदाधिकारीको निर्देशन अनुरूप कानुन नीतिको अथ्ययन तथा विश्लेषण गर्थें । त्यसबेला निर्णायक तहमा रहेर कसरी नीति निर्माण तथा कार्यान्वयन गराउन सकिन्छ भनेर सूक्ष्म तवरले अध्ययन गर्ने मौका समेत पाएँ । आफ्नो कार्यकाल भरी निर्णायक तहमा रहेर सेवा गरुञ्जेल त्यो काम लाग्छ । वास्तवमा सो कार्यालयमा हुँदा सिकेका ज्ञान सीपले यस क्षेत्रमा थप क्रियाशील भएर लाग्ने प्रेरणा पनि मिलेको छ ।
जनतासँग रहेर सेवा गर्दा सम्मान र पुरस्कार


निजामती सेवा जनतासँग प्रत्यक्ष सम्बन्धित सेवा भएकाले मैले पनि जनतासँग नजिक रहेका काम गर्ने अवसर पाएको छु । जनसरोकारका विषयमा काम गरेर उनीहरूलाई प्रभावकारी सेवा दिन पाउँदा मन पनि आनन्दित हुन्छ । मैले १८ महिनासम्म भरतपुर महानगरपालिकामा रहेर काम गरेको छु । यसक्रममा त्यहाँका स्थानीयहरू सेवा लिन आउँदा सन्तुष्ट भएर फर्कनुहुन्थ्यो । यस क्रममा मलाई पनि जनताको अवस्था, उनीहरूको माग आवश्यकता र सरकारप्रतिको अपेक्षा कस्ता रहेछन् भनेर बुभ्ने अवसर प्रप्त भयो । साथै आफ्नो कर्तव्य र जिम्मेवारी अनुरूप आफूलाई कसरी कटिवद्ध बनाउने भनेर सिक्ने अवसर पनि मिल्यो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गर्दा पनि बेग्लै अनुभव हासिल गरेको छु । त्यहाँ रहँदा भ्रष्टाचारका उजुरीको विषयमा सिनियरहरूको निर्देशन र समन्वयमा रहेर अध्ययन तथा अनुसन्धान गर्ने अवसर पाएँ । यहाँ काम गर्दा देशमा व्याप्त भ्रष्टाचार र त्यसमा संलग्न व्यक्तिको बारेमा बुझ्न मदत मिल्यो । अख्तियारद्वारा हुने विभिन्न अनुन्धानमा संलग्न रहेर प्रतिवेदन बनाउने काम गरेकी छु । यस सिलसिलामा पनि जनतासँग रहेर उनीहरूका उजुरी उपर छानबिन गर्ने काममा संलग्न भएकाले देशमा सुशासन कायम गराउन केही न केही योगदान दिने मौका मिल्यो । आयोगमा छँदा मैले इमानदारीपूर्वक निर्वाह गरेको भूमिकाको पनि उच्च सम्मान भएको थियो । आयोगबाट मैले २०७८ मा आयोगको ३१ औं स्थापना दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान पुरस्कार पनि प्राप्त गर्न सफल भएँ । यो पुरस्कार पाएपछि मेरो हौसला अझै बढ्यो । राम्रो काम गर्ने कर्मचारीलाई राज्यले विश्वास गरेर पुरस्कृत गर्दा थप नयाँ काम र जिम्मेवारी पूरा गर्न उर्जा मिल्दो रहेछ ।
तल्लो तहका कर्मचारीलाई विभेद
निजामती सेवामा महिलाको हक अधिकारसँग सम्बन्धित थुप्रै प्रवधान छन् । कार्यालयबाट कानुनी रूपमा खासै विभेद छैन तर तल्लो तहमा कार्यरत महिलाहरूले भने विभेद झेल्नु परेको गुनासो गरेको सुनिन्छ । कार्यालयको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा पनि पहिलो प्राथमिकता पुरुष कर्मचारीलाई दिइन्छ । माथिल्लो तहका कर्मचारीले त आवाज उठाउन सक्ने भएकाले कार्यालयले खासै विभेदपूर्ण व्यवहार गरेको देखिँदैन तर तल्लो तहका महिला कर्मचारीको पहुँच पनि सहजै नपुग्ने हुँदा विभेदपूर्ण व्यवहार वा हिंसा हुँदासमेत सहनु पर्ने अवस्था छ । कतिपयले यस्तो व्यवहार विरुद्ध उजुरी गरेको पनि सुनिन्छ तर सामाजिक मर्यादा वा दबाबका कारण गुनासो उपर सुनुवाइ नहुँदै पछि हट्नु परेको पनि देखिन्छ ।
राम्रो काम गर्नलाई प्रशस्त अवसर
निजामती सेवामा महिलाका लागि अनेकन अवसर छन् । साथै राज्यले पनि महिलाको क्षमताको विश्वास गरेर गहन जिम्मेवारी दिन थालेको छ । उनीहरूले गरेका कामको सम्मान गरेको छ । मध्यम वर्गीय परिवारबाट आउनेका लागि त लोक सेवा मार्फत यस क्षेत्रमा प्रवेश गर्न झन् सुरक्षित र मर्यादित छ । किनभने यहाँ क्षमता र योग्यता अनुसार काम गर्न पाइन्छ । कसैको दबाब वा भनसुन बिनै आफ्नो योग्यता प्रमाणित गरेर काम गर्ने अवसर पाएकाले सम्मानित पनि छ । महिला भएको नाताले केही चुनौती त अवश्य झेल्नुपर्छ । महिलाको चौतर्फी जिम्मेवारी भएकाले घर परिवार तथा समाजसँगको सम्बन्ध खलबलिन नदिई कार्यालयको काम पनि व्यवस्थित रूपले गर्नुपर्ने हुन्छ । महिलामा कामप्रतिको लगाव र इच्छाशक्ति हुने हो भने उनीहरू जस्तासुकै चुनौती पनि पार गरेर अघि बढ्न सक्छन् -स्वतन्त्र समाचार