बराबरीमा रोकियो चेल्सी र युनाईटेड

Apr 29th, 2022

काठमाडौ, १६ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। बिहीबार राति युनाईटेडको घरेलु मैदानमा भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

ओल्ड ट्राफोर्डमा युनाईटेडको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने चेल्सीको लागि मार्कोस अलोन्सोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो । खेलको ६० औं मिनेटमा चेल्सीका मार्कोस अलोन्सोले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको ६२ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ र तेस्रो स्थानमा छ । युनाईटेडको ३५ खेलबाट ५५ अंक छ र तालिकाको छैटौं स्थानमा छ ।