इन्टर मिलान बोलोग्नासँग पराजित

Apr 28th, 2022

काठमाडौं, बैशाख १५

इटालियन सिरी ए फुटबलमा बोलोग्नाले इन्टर मिलानलाई पराजित गरेको छ ।बुधबार राति घरेलु मैदानमा भएको खेलमा बोलोग्नाले इन्टर मिलानलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बोलोग्नालाई जित दिलाउन मार्को अव्रामोभिक र निकोला सानसोनले एक एक गोल गरे । इन्टर मिलानका इभान पेरिसिकले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता इन्टर मिलानले लिएको थियो ।खेलको तेस्रो मिनेटमा इभान पेरिसिकले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २८ औँ मिनेटमा बोलोग्नाका मार्को अव्रामोभिकले गोल गर्दै खेल खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको ८१ औं मिनेटमा निकोला सानसोनले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।

जितसँगै बोलोग्नाले ३४ खेलबाट ४२ अंक जोडेको छ र १३ औं स्थानमा छ । इन्टर मिलानको ३४ खेलबाट ७२ अंक छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको एसी मिलानको ३४ खेलबाट ७४ अंक छ।