अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Apr 25th, 2022

काठमाडौं, १२ बैशाख
स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र २ थान सिरिञ्ज सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय बिमल थापा रहेका छन् । बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-१२ कुस्माटोलस्थित चौरबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजाको बोरा सोही स्थानमा छोडेर मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।