एभर्टनमाथि लिभरपुलको जित

Apr 25th, 2022

काठमाडौं, बैशाख १२

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोलले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन एन्ड्रयू रोबर्टसन र डिभोक ओरिजीले एक-एक गोल गरे। लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ६२ औं मिनेटमा एन्ड्रयू रोबर्टसनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।पराजित एभर्टनको ३२ खेलबाट २९ अंक छ र तालिकाको १८ औं स्थानमा छ ।