युनाईटेडमाथि लिभरपुलको एकतर्फी जित

Apr 20th, 2022

काठमाडौं, बैशाख ७

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि एकतर्फी जित निकालेको छ । मंगलबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे भने लुइस डेज र साडियो मानेले एक-एक गोल गरे। लिभरपुलले दुई गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको पाँचौं मिनेटमा लुइस डेजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६८ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।पराजित युनाईटेडको ३३ खेलबाट ५४ अंक छ र तालिकाको छैटौं स्थानमा छ ।