रोमासँग बराबरीमा रोकियो नापोली

Apr 19th, 2022

काठमाडौं, बैशाख ६

इटालियन सिरी ए फुटबलमा नापोली १० खेलाडीमा समेटिएको रोमासँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा नापोली र रोमाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा नापोलीको लागि लोरेन्जो इन्साइनले एक गोल गरे भने रोमाको स्टेफन एल शारावीले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता नापोलीले लिएको थियो । खेलको ११ औं मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको इन्जुरी समयमा रोमाका स्टेफन एल शारावीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

त्यस भन्दा अघि खेलको ७८ औँ मिनेटमा रोमा १० खेलाडीमा समेटिएको थियो ।रोमाका डेनियल फुजाटोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

बराबरीसँगै नापोलीको ३३ खेलबाट ६७ अंक छ र तेस्रो स्थानमा छ।रोमाको ३३ खेलबाट ५८ अंक छ र पाँचौं स्थानमा छ ।