बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

Apr 13th, 2022

गलकोट, ३० चैत /रासस

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लाग्नुभएको छ । श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गर्नुभएका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौँस्थित टोखामा दुई वर्ष कुखुरापालन गर्नुभयो । विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किनुभएको हो । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहनुभएको छ । अब उहाँको कुखुरापालन गर्ने योजना छ ।

“गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए”, थापाले भन्नुभयो, “गाउँमै केही गर्ने सोच पलायो ।” बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उहाँको भनाइ छ । अहिले उहाँ फार्म विस्तारमा लाग्नुभएको छ । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

थापाले नाफालाई ध्यान नदिई लगानी वृद्धिमा जोड दिनुभएको छ । उहाँले तीन वर्षअघि ३५ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको हो । गाउँको बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन बढाउन बाख्रापलनमा लगानी गरेको उहाँ बताउनुहुन्छ । “हालसम्म रु ३० लाख लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो ।

ताराखोला गाउँपालिकाले बाख्रापालनलाई प्रवद्र्धन गर्न रु नौ लाख अनुदान उपलब्ध गराएको थापाले बताउनुभयो । उहाँले सो रकमबाट फार्म विस्तार र बोयर बोका खरिद गर्नुभएको छ । “गाउँ उजाडिँदै गयो, सेवा सुविधा, अध्ययन र रोजगारीका लागि गाउँ छोड्नेहरु बढे, त्यसैलाई आफूले अवसरका रुपमा लिएर बाख्रापालन गर्ने सोच बनाएर गाउँ फर्के”, थापाले भन्नुभयो ।

व्यवसायमा उहाँलाई भाइ रिमबहादुरले सहयोग गरिरहनुभएको छ । आफ्नै ६० रोपनी र अन्य घर छोडेर गएका चार परिवारको ७० रोपनी जग्गामा थापाले बाख्रा चराउने र घाँस काट्ने गर्नुभएको छ । सामुदायिक वनमा समेत बाख्रा चराउने गरेको थापाले बताउनुभयो । “बजारको समस्या छैन, बाख्रा खरिद गर्न व्यापारी फार्ममै आउने गरेका छन्”, उहाँले भन्नुभयो । चरन क्षेत्र प्रशस्त भएको श्याम खर्कमा बाख्रापालनको सम्भावना अत्यधिक छ ।