• गृहपृष्ठ
  • राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित

राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित

Apr 8th, 2022

वासिङ्टन,२५ चैत /रासस/एएनआई

रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो ।रुसले युक्रेनमाथी आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ ।

महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् । रुसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गर्नु भएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनु पर्नेमा जोड दिनुभयो ।

“संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,” राष्ट्रपति बाइडेनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।परिषद्बबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उहाँले बताउनु भएको छ ।