उल्भ्समाथि लिड्सको पुनरागम जित

Mar 19th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ५ चैत
इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्सले पुनरागमन जित निकालेको छ। शुक्रबार राति भएको खेलमा लिड्सले १० खेलाडीमा समेटिएको उल्भ्स युनाइटेडलाई ३-२ गोलले पराजित गरेको हो ।

लिड्सलाई जित दिलाउन ज्याक ह्यारिसन,रोड्रिगो मोरेनो र लुक आयलिंगले एक-एक गोल गरे। उल्भ्सका जोनी र फ्रान्सिस्को ट्रिनकाओले एक- एक गोल गरे।

खेलमा पहिलो अग्रता भने उल्भ्सले लिएको थियो। खेलको २६ औँ मिनेटमा जोनीले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा उल्भ्सका फ्रान्सिस्को ट्रिनकाओले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ५३ औं मिनेटमा उल्भ्स १० खेलाडीमा समेटिएको थियो। उल्भ्सका राउल जिमेनेजले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा लिड्सले उठाउन सफल भयो ।

खेलको ६३ औँ मिनेटमा लिड्सका ज्याक ह्यारिसनले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ६६ औँ मिनेटमा लिड्सका रोड्रिगो मोरेनोले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा लिड्सका लुक आयलिंगले गोल गर्दै टोलीलाई ३-२ को पुनरागम जित दिलाए ।

जितसंगै लिड्सले ३० खेलबाट २९ अंक जोडेको छ र १६ औँ स्थानमा छ ।पराजित उल्भ्सको ३० खेलबाट ४६ अंक छ र आठौं स्थानमा छ ।