कविताः कोरोना युद्ध

Mar 16th, 2022

छन्दः शार्दूलविक्रीडीत
रचनाः जानुका सुवेदी

कोरोना कति विध्न मै मन परें व्याप्तै भयौ देहमा ।
क्यारूं झै हुन गो चुमेर नसकी निल्नै भन्यौ स्नेहमा ।।
आँखामा पहिले बसेर भृकुटी टोक्दै झर्यौ वक्ष्यमा ।
सारा तन्तुहरू डसेर तन यो सिद्ध्याउने लक्ष्यमा ।।

धड्कन् बढ्न गयो जसै मुटु छुंदा कम्पन् भयो बेसरी ।
गालामा पनि लालिमा अधरमा धाजा परे यसरी ।।
हल्चल् को अवसर मिलेन तन यो लेटी रह्यो शैनमा ।
छातीमा भुमरी गला जलन भो ज्वाला चढ्यो नैनमा ।।

तोड्यौ बन्धन गन्ध, स्वाद, रसको ईर्ष्या र डाह गर्यौ ।
ठान्यौ दुष्मन जीवनै मनुजको साम्राज्य आफ्नै भर्यौ
एक्लौटी अधिकार झ‌ैं शरिरमा क्रिडा गर्यौ हर् घडी ।
लाचारी म बनी लुटाउन विवश् यो रोग शैया लडी ।।

फैलाई कन रोग पास बलियो उम्किन दिन्नौ कसै ।
मेरै देह चुसी चुसी बल लुट्यौ तङ्गरिन खोज्छु जस‌ै ।।
टाढीए सब इष्टमित्र तिमीले हाल्यौ अंगालो जब ।
एकाकार भई सधैं शरिरमा खोज्यौ कि बस्नै अब रुरु

एकान्त पनि अन्तरंग हुन गो हर् तन्तुमा लिप्त छौ ।
तिम्रो भोक र प्यास तृप्त नहुने झन् उग्र विक्षिप्त छौ ।।
नङ्ग्राले मुटुमा चिथोर्न नपुगी दाह्रा धस्यौ तन् भरि ।
मेरो रक्त प्रवाह नै प्रलय हो टिक्छौ तिमी के गरी रुरु

फोक्सोमै हमला गरूं अब भनी रोक्यौ नशा प्राणको ।
प्रतिरोध हुने छ हिम्मत बडा यै शक्तिको त्राण भो ।।
साच्चैको यदि सृष्टि हौ प्रकृतिको त्यागेर वैर बस ।
साम्राज्य यदि एकछत्र जसरी ठान्छौ त झोला कस ।।

मेरै अब्बल सैन्य छन् रखवरी भाग तिमी अज्नवी ।
तिम्रो चाल कलेशका कुटिलता पर्नै म दिन्न छवि ।।
ज्यूने हो यदि विश्वमा हठ बिना आउ र मैत्री बन ।
तोड्नै त अब दिन्न देह सहजै लड्छौ र साँच्चै भन ?