• गृहपृष्ठ
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

Mar 11th, 2022

काठमाडौं, फागुन २७
बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने गोरखा भिमसेन थापा गाउँपालिका–६ ठेगाना भएका २५ वर्षीय निसम बिक, काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ ठेगाना भएका ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौं रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ ठेगाना भएकी ३६ वर्षीया शान्ता कोईराला दवाडी रहेका छन् । निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ गतेको फैसलाले मुन्दिपलाई ४ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना र गत मंसिर २१ गतेको फैसलाले शान्तालाई ९ लाख ९० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो भने निसमको नाममा बैकिंङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौं मनमैजुबाट र निसमलाई बनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।

मुन्दिप र शान्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।