• गृहपृष्ठ
  • कविता : किशोरावस्थाको गर्भाधानः सर्वागिण विकासमा व्यवधान

कविता : किशोरावस्थाको गर्भाधानः सर्वागिण विकासमा व्यवधान

Mar 8th, 2022

काठमाडौ, फागुन २४

छन्द : शार्दूलविक्रीडीत

रचना: जानुका सुवेदी

सानै छौ बहिनी पढी इलमले ज्ञान् को उज्यालो छरे ।

टुक्रेला सपना उमेर नपुगी सन्तान ईच्छा गरे ।।

कोलाहल् घरमा सदैव झगडा रोगी, अशक्तै हुने ।

भोको पेट् नछ बस्त्र एक गतिलो सन्तान दुव्लो रुने ।।

बेला छैन सही छ काम रसले मातेर साँढेसरी ।

फक्रेको रुप माथि आतुर बनी घुम्दोछ लट्ठै परी ।।

जोशिलो रुपवासना रहरले होसै गुमायौ भने ।

होला जोखिम आपतै पनि अझै आमा कुमारी बने ।।

आमाको ममता भरिन्छ सहजै पाल्ने कसोरी तर ।

अन्मोल् जीवन हो र एक भुलले बच्चा नफाल्ने गर ।।

मर्यादा नभुले अपार सुखको सिङ्गो खुशी मिल्दछ ।

भड्केमा पछुतो र मान गिरने, एच्आइभिले निल्दछ ।।

आधारै शिशु हो नठान गुडिया होलानि ग्लानी कडा ।

पैले योग्य बनी भएर सवला आफ्नै बुतामा खडा ।।

साथी जीवनको विवाह गरनू पक्का छ अंङ्ग जव ।

चाहेको शिशुको बुनेर सपना साझा मतिमा तव ।।

सम्पूर्णरुपले तयार तनमन् लेओस् विकास् ले गति ।

आमाले परिपक्व जीवन दिए होला सदा उन्नति ।।

स्वास्थ्य नै धन हो र सन्ततिहरू आधार हाम्रा यिनै ।

देशैको गतिलो सपूत बलियो पार्नुछ जग्देखि नै ।।