• गृहपृष्ठ
  • माल्दिभ्समा नेपाली श्रमिक पठाउनेबारे श्रममन्त्री श्रेष्ठसँग राजदुतको छलफल

माल्दिभ्समा नेपाली श्रमिक पठाउनेबारे श्रममन्त्री श्रेष्ठसँग राजदुतको छलफल

Mar 3rd, 2022

कामठमाडौ, फागुन १९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् । ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–माल्दिभ्सश्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए ।

पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्सको सरकारी अस्पतालहरुमा रोजगारी उपलब्ध गराउननेपाल–माल्दिभ्सश्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिनेतयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा दुई सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरु रहेका छन् ।

उनीहरुले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरुले मुद्रा विनिमयको सुविधा नदिंदा अनौपचारिक बजारमा महंगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरुमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरुलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्वन्धि सम्झौता नविकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले दुई लाख डोज खोप उपलब्ध गराएकोमा पनि उनले माल्दिभ्स सरकारलाई धन्यवाद दिए ।

सन् १९८० मा कुटनीतिक सम्वन्ध स्थापना भएदेखि नेपाल–माल्दिभ्सबीच घनिष्ट सम्वन्ध रहेको छ । मन्त्री श्रेष्ठले दुवै देश सार्कका सक्रिय सदस्य राष्ट्र रहेको बताउँदै नवनियुक्त राजदुत नियाजको कार्यकालमा द्विपक्षीय सम्वन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा राजदुत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताए ।