• गृहपृष्ठ
  • ६ करोड बढि रकम ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ

६ करोड बढि रकम ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ

Feb 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ ११ फागुन

काठमाडौँमा एक सहकारीले ६ करोड बढी रकम ठगी गरेको पाइएको छ । पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले रकम हिनामिना गरेको हो ।

रकम ठगी गरेको आरोपमा सहकारीका सञ्चालक अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान थालेको वताइएको छ।

सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउन अनुरोध गरेको छ ।

सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम उनीहरुले आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरुले १५ जना निक्षेपकर्ताको छ करोड २५ लाख दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ। बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए।