ठगी गरेको अभियोगमा दुई जना पक्राउ

Feb 21st, 2022

काठमाडौं, फागुन ९
ठगी गरेको अभियोगमा रौतहट माधबनारायण नगरपालिका–२ घर भई पर्सा वीरगञ्ज बस्ने सुभम साह र बारा महागढिमाई नगरपालिका–१० घर भई पर्सा वीरगञ्ज बस्ने सर्फराज आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ई–सेवाले बोनस बाँड्दैछ, आफ्नै ई–सेवामा ५० हजार रकम जम्मा गरेमा २ हजार ५ सय रुपैयाँ बोनस पाईन्छ भनी ९८२९४०२०४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी बिश्वासमा पारी ई–सेवा आईडीको ओटिपी प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

ठगी गरेको उक्त रकमले टिकटकमा विक्रीको लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी उनीहरूले पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको छ । यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको छ ।