• गृहपृष्ठ
  • सेयरबजारमा फेरी पनि राष्ट्र बैंकको नकारात्मक दृष्टि , कर्जामा थप कडाई गर्ने संकेत

सेयरबजारमा फेरी पनि राष्ट्र बैंकको नकारात्मक दृष्टि , कर्जामा थप कडाई गर्ने संकेत

Feb 18th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन ६

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा गर्दै पुन सेयरबजारलाई अनुत्पादक क्षेत्र भन्दै यो क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्ने संकेत गरेको छ ।

समिक्षामा पुनरावलोकन गर्ने भनेर उल्लेख गरेपनि भित्रिरुपमा कर्जा कडाई गर्ने तयारी भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

साथै राष्ट्र बैंकले आफूले अनुत्पादक भनेको रियलस्टेट र सेयर धितो ऋणमा थप कडाइ गर्ने जनाएको छ । अहिले जोखिम भार शतप्रतिशत छ । यसलाई बढाउने तयारी रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

बैक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्ट लगायतका आयात कर्जाका साथै ब्यक्तिगत अधिविकर्ष कर्जामा कडाइ गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । ब्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाख रहेकोमा यसलाई घटाएर यस्तो कर्जा नै निरुत्साहन गर्ने राष्ट्र बैंकको तयारी छ ।

साथै राष्ट्र बैंकले बैक दर बढाएको छ। पाँच प्रतिशतको बैंक दरलाई सात प्रतिशत पु¥याएको छ ।

असल ऋणको धितोमा प्रदान गरिने पुनर्कर्जाको ब्याज दर पाँच प्रतिशतबाट बढेर सात प्रतिशत पुराइएको छ । उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याज दर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने गरी अध्ययन गरिने भएको छ ।

यसको अर्थ उत्पादनशील र अनुत्पादक क्षेत्रको कर्जाको ब्याज दर फरक हुने छ । यो ब्यवस्था नमुनाका रुपमा चैतभित्र कुनै एक क्षेत्रमा लागु गरिनेछ ।

ब्याज करिडोरको स्थायि तरलता सुविधा दर ७ प्रतिशत पुगेको छ । नीतिगत रिपो साढे पाँच प्रतिशत र निक्षेप संकलन दर चार प्रतिशत कायम गरेको छ । सीआरआरलाई तीन प्रतिशत यथावत राखेको छ । वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ ।