अवैध सुन र मोबाइल सहित ३ जना पक्राउ

Feb 3rd, 2022

काठमाडौं, माघ २०
अवैध रुपमा भन्सार छलि ल्याएको १ किलोग्राम १ सय ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ ठेगाना भएका ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहट गौर नगरपालिका १० सोबगाढा ठेगाना भएका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरी गाउँपालिका ७ ठेगाना भएका २८ वर्षीय नबराज परियार रहेका छन ।
एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको १ किलोग्राम ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिल कुमार साहलाई ५० ग्राम बराबरको १ थान बेरुवा औँठी तथा १ थान सिक्री र ४ थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्राम बराबरको २ थान बेरुवा औंठी र १ थान आईफोन सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट काठमाडौं आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाईल फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।