• गृहपृष्ठ
  • अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

Feb 2nd, 2022

मङ्गलबारे, १९ माघ /रासस

वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । सुरक्षित आप्रवासन परियोजनाद्वारा आयोजित कार्यक्रमका सहभागीले अझै पनि वैदेशिक रोजगारीमा जाने युवाले दुःख र वढी शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाएका थिए ।

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए । ‘फ्री भिषा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ । विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो । रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ ।

नगरपालिकाभित्र वैदेशिक रोजगारीसम्बन्धी गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम बढेको छ । सो परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताइएको छ । तर विदेश गएका ८७९ विवाहित पुरुषमध्ये यहाँ रहेका २२ महिलाले मात्र अर्को विवाह गरेको तथ्याङ्क रहेको कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिनुभयो ।

विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको समेत कार्यक्रममा जानकारी दिइयो । परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामुकमार कर्णका अनुसार भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताउनुभएको छ ।

आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरु बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक तामाङले बताउनुभयो ।इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाउने गरेको छ । भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्ने परियोजनाको लक्ष्य छ ।