• गृहपृष्ठ
  • धौलागिरी लघुबित्त र सनराईज क्यापिटलबिच सम्झौता

धौलागिरी लघुबित्त र सनराईज क्यापिटलबिच सम्झौता

Jan 26th, 2022

काठमाडौ, माघ १२
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराईज क्यापिटल लिमिटेडबिच सम्झौता भएको छ । बाग्लुङमा केन्द्रिय कार्यालय रहेको संस्थाले निष्काशन गर्नुपर्ने तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबिच बुधबार सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५ फागुन एक गते देखि वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल एक सय ९१ जना कर्मचारी परिचालन गरि ३४ हजार चार सय ३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको छ ।

हाल चुक्ता पूँजी सात करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् १० करोड चुक्ता पुंजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७–०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा चारा करोड नौ लाख पुगेको छ । आर्थिक बर्ष २०७७–०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५० रुपैयाँ १२ पैसा भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा ६१ रुपैयाँ ४५ पैसा प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी गराएकाछन ।