• गृहपृष्ठ
  • श्रममन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदुतसँग छलफल

श्रममन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदुतसँग छलफल

Jan 26th, 2022

काठमाडौ, माघ १२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेकाछन । मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबीच द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरे ।

अनाधिकृतरुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स संचालकहरु, बिचौलिया तथा लामो समयदेखि युएईमा बिभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानुनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरे । मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा युएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुन्जेल त्यंहि रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गरे । त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनीरुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गरे ।

राजदुत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए । साथै उनीहरुबीच नेपाल यूएई संयुक्त समितिको वैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । ‘भिजिट भिषामा यूएई पुर्याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु, ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनीहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्वद्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ ।