सोनाम ल्होछार घरघरमा मनाइने

Jan 26th, 2022

चितवन, १२ माघ /रासस

तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।

यही माघ १९ गते ल्होछार पर्व पर्दछ । नेपाल तामाङ धेदुङ्ग सङ्घ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होछार घरमा नै मनाउन लागिएको हो ।

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उहाँले बताउनुभयो । सामान्यतः गुम्बा, गुठीलगायतका क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो । उहाँले भन्नुभयो, “यही माघ १९ गते परेको ल्होछारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन ।” यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग सुरु हुने उहाँले बताउनुभयो ।

जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरिएको थियो । अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ । घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गर्नुभयो ।