• गृहपृष्ठ
  • राष्ट्रियसभा सदस्य निर्वाचनः यी ठाउँबाट हुँदैछ मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनः यी ठाउँबाट हुँदैछ मतदान

Jan 26th, 2022


आधारभूमि संवाददाता


काठमाडौं १२ माघ

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ।
आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन्। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगिसकेका छन्।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता हरेका छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्।

कोरोना महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

यी ठाउँबाट हुदैछ मतदान

गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।

यसैगरी प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ।