• गृहपृष्ठ
  • राष्ट्रियसभा सदस्य निर्वाचन भोलि, यस्तो छ आयोगको तयारी

राष्ट्रियसभा सदस्य निर्वाचन भोलि, यस्तो छ आयोगको तयारी

Jan 25th, 2022

आधारभूमि संवाददाता

काठमाडौं ११ माघ

भोलि बुधबार (माघ १२) गते राष्ट्रियसभा सदस्यको चुनाव हुँदै छ । कोरोना संक्रमणबीच हुन लागेको चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

फागन २० गते रिक्त हुने १९ सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्।

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो।

आयोगले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ।