• गृहपृष्ठ
  • तरलता संकट झनै बल्झीने देखिएपछि सेयर लगानीकर्ताले सेयर बेच्न थाले

तरलता संकट झनै बल्झीने देखिएपछि सेयर लगानीकर्ताले सेयर बेच्न थाले

Jan 25th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, माघ ११

सेयर लगानीकर्ताले तरलता अभाव झनै बढ्ने देखेपछि नाफा बुक गर्न तम्सीएका छन् । जसका कारण बजारमा एकै दिनमा १ सय अंकको गिराव आएको छ ।

बिशेषगरि सरकारले आन्तरिक ऋण उठाउन थालेपछि तरलता अभाव झनै बढ्ने देखिएको हो । साथै निर्वाचन पनि पछि धकेलिने देखिएपछि तरलता अभाव तत्कालै सहज नहुने देखिएको छ । यिनै भयका कारण सोमबार बजारमा सेयर बेच्नेहरु बढेकाले बजारमा ठूलो अंकको गिरावट आएको हो ।

अहिले बैक तथा वित्तीय क्षेत्रमा ९ अर्बको हाराहारीमा मात्रै लगानीयोग्य रकम छ । तर बैंकिङ क्षेत्रले यसरी लगानीयोग्य रकमको अभाव झेलिरहेका बेलामा तिनै बैंक तथा वित्त संस्थाबाट सरकारले पनि आन्तरिक ऋण उठाउने गरि प्रक्रिया अघि बढाएको छ ।

सरकारले यो आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकामा गत पुषसम्म ६ अर्ब उठाएको छ । यसबाहेक अबको चैत सम्ममा सरकारले थप १ खर्ब ऋण उठाउन लागेको छ । जसका लागि सोमबार १० अर्ब बराबरको बिकास ऋणपत्र २०८० जारी गर्ने सुचना जारी गरेको छ । राष्ट्र बैंक भने तरलतामा अभाव नपर्ने गरि ऋणपत्र जारी गर्ने दाबी गर्छ ।

अभावका बेलामा राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा मौद्रिक उपाय मार्फत तरलता उपलब्ध गराउने बताएपनि ति प्रभावकारी भने हुन सकेका छैनन् । सरकारले खर्च गर्न नसकेपनि भोलिका दिनमा आइपर्ने खर्च टार्नका लागि यस्तो रकम जोहो गरेको हो । ढुकुटिमा भएको रकम खर्च नगर्ने र बजारमा भएको रकम पनि थप उठाउने हो भने लगानी बिस्तारमा झनै बाधा उत्पन्न हुन सक्नेछ ।

बजारमा ऋण उठाउनै लाग्दा सरकारले बिकास खर्चमा पनि तिब्रता दिने हो भने चाहि यसरी उठाएको ऋणले बजारमा ठूलो प्रभाव पार्ने छैन । तर, ऋण उठाएर सरकारले तत्काल रकम खर्चने देखिएको छैन ।