• गृहपृष्ठ
  • इजरायलमा श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठद्वारा बिदाइ

इजरायलमा श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठद्वारा बिदाइ

Jan 20th, 2022

काठमाडौ, माघ ६
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गइ विदाइ गरेकाछन । निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुगेका थिए ।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्ता भएको बताए । मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेकाहुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् । मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएकाछन ।