• गृहपृष्ठ
  • बंगलादेशी बैंक आइएफआइसीको सेयर खरिदमा दुगड र चौधरी समुहको ‘वार’ , दुगडको पक्षमा अदालतको अन्तरिम आदेश

बंगलादेशी बैंक आइएफआइसीको सेयर खरिदमा दुगड र चौधरी समुहको ‘वार’ , दुगडको पक्षमा अदालतको अन्तरिम आदेश

Jan 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष २९ ।

नेपाल बंगलादेश बैंकमा आइएफआइसीको सेयर कसले खरिद गर्ने भन्ने बिषयमा दुगड ग्रुप र चौधरी ग्रुपबिच वार भएको छ । बंगलादेशी बैंक आइएफआइसीको सेयर खरिद हत्याउने दुबै समुहको प्रयास भएको छ । दुगड समुहले खरिद गर्न लागेको सेयर चौधरी समुहले एक्कासी हत्याउन खोजेपछि दुगड समुह आक्रोशित भएको छ ।

नेपाल बंगलादेश बैंकमा बंगलादेशको आइएफआइसी बैंकको स्वामित्वमा रहेको ५ अर्ब ७८ करोड बराबरको सेयर खरिद प्रक्रिया तत्कालका लागि रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको छ । बंगलादेश बैंकमा आइएफआइसीको ४१ प्रतिशत सेयर स्वामित्व छ ।

आइएफआइसीको स्वामित्वमा रहेको सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो । सनराइज बैंकका अध्यक्ष रहेका आफुले यसअघि नै प्रतिकित्ता १ सय ५७ मा सेयर खरिद गर्ने सम्झौता गरिसकेको भन्दै अदालतमा उजुरी पेश गरेको थियो । उजुरीकर्ताले गत चैत १८ मा परेको प्रस्तावमा प्रस्ताव स्वीकार गरि करार कार्य समेत अघि बढेको भन्ने उजुरीका साथमा पेश गरेकाले तत्कालका लागि यसको खरिद बिक्री प्रक्रियामा रोक लगाइएको काठमाडौं जिल्ला अदालले जनाएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतलका न्यायाधिश रामचन्द्र पौडेलको एकल इजलाशले अन्तरीम आदेश दिएको हो ।

सम्झौताको ७ महिनासम्म आइएफआइसी दुगडको निरन्तर सम्पर्क रहेपनि पछिल्लो दुई महिनादेखि दुगडसँग सम्पर्क गर्न छाडेको थियो। यो बेवास्तासँगै चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता भएको सूचनासँगै दुगड समूह आक्रोशमा आएको छ ।

साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ।

आफूसँग भएको सम्झौताविरुद्ध आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकको स्वामित्व अर्कै पक्षलाई बिक्री गर्ने तय भएपछि दुगडले अदालतमा मुद्दा हालेका थिए। मुद्दामा आदेश मंगलबार आएपछि लिखित आदेश बुधबार उपलब्ध गराइएको हो। आइएफआइसीको स्वामित्वमा रहेको सेयर विनोद चौधरी चेयरम्यान रहेको चौधरी समूहले खरीद गर्न लागेको थियो। उनकी श्रीमती सारिकाको नाममा सेयर खरीद गर्ने सम्झौता भएको थियो। दुगड समूहले केही दिन अघि नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो। दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा पनि यस सम्बन्धमा उजुरी गरेको थियो।

अदालतको आदेशका बारेमा दुगड समूहले राष्ट्र बैंकलाई पनि जानकारी गराएको छ। आदेशमा भनिएको छ– नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ।

अदालतले उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भनि आदेशसमेत दिएको छ।

सेयर खरिदका लागि एनबी समूहका तर्फबाट आवेदन परेको थियो। उनीहरु सेयर खरिद गर्न योग्य नभएको राष्ट्र बैंकले भनेपछि बाहिरको पक्षलाई बिक्री गर्ने योजना अगाडि बढेको थियो।