• गृहपृष्ठ
  • सरकारी जग्गा ब्यक्तिका नाममा लाने बिरुद्ध राजस्व अनुसन्धान विभाग, ५ जनालाई मुद्दा दायर

सरकारी जग्गा ब्यक्तिका नाममा लाने बिरुद्ध राजस्व अनुसन्धान विभाग, ५ जनालाई मुद्दा दायर

Jan 5th, 2022

आधारभूमि संवाददाता

काठमाडौं,पुष २०

सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा लाने मूख्य अभियुक्त शोभाकान्त ढकालसहित ५ जनालाई राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटमा मुद्दा दायर गरेको छ ।

राजस्व छलि गरि राज्यलाई क्षति पुराएको भन्दै विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर ढकालविरुद्ध मुद्दा दायर गरेको हो । राजेश्वर लेखापरीक्षण गर्ने फर्म ‘राजेश्वर एण्ड कम्पनी’का प्रोपाइटर हुन् ।

विभागले एक अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ बराबरको रकम राज्यलाई ठगिएको अनुमान गर्दै बिगो कायम गरेको छ। साथै सोहि बमोजिमको जरिवाना समेत तोकेको छ ।

विभागले मुअकतर्फ ४२ करोड २६ लाख सात हजार ३५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७, लाभांशतर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ कर छलि भएको आकलन गरेको छ ।

आनसान इन्टरनेशनल प्रालिमार्फत झुट्टा मूल्य अभिवृद्धि कर, झुटा वित्तीय विवरण र अन्य विवरण तयार पारी राजस्व चुहावट गरेको अभियोगमा मंगलबार मुद्दा दायर भएको हो।

बिभागले बिगो बराबरको शतप्रतिशत जरिवाना पनि माग गरेको छ। कूल दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ दाबी गरिएको छ । श्रेष्ठको हकमा भने मतियारका रुपमा आधा सजाय माग गरिएको छ।

राजस्व चुहावट गर्ने मनसायले जालसाजी यूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात् कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।