• गृहपृष्ठ
  • उखु किसानको पैसा नतिर्ने यी ५ चिनीमिललाई सरकारले गर्यो पत्राचार

उखु किसानको पैसा नतिर्ने यी ५ चिनीमिललाई सरकारले गर्यो पत्राचार

Jan 4th, 2022

आधारभूमि संवादाता

काठमाडौं, २० पुस


किसानलाई उखुको पैसा नतिर्ने ५ उद्योगलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले ति उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलले सो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलको बैंक खाता र जग्गा रोक्का गर्नका लागि भूमी व्यवस्था, गृह र अर्थ मन्त्रालयमा लेखी पठाएको जनाएको छ ।

मन्त्रालयका अनुसार ५ वटा मिलले उखु किसानलाई ८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ति उद्योगलाई भुक्तानीमा प्रतिबद्ध गराउन सो कारबाही गरिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले उखुको मूल्य निर्धारण गर्ने समय भएको बताउँदै उनले उखुमा देखिएको समस्याले उत्पादन घट्दै गएको बताए ।

किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको उनले जानकारी दिए ।

छलफलमा राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि तत्काल निर्णय भने गर्न नसकिएको बताए ।

त्यस्तै कृषि सचिव गोविन्द शर्माले उखुको मूल्य मन्त्रिपरिषदमा पठाइएको र बुधबार यसबारे निर्णय हुने जनाकारी दिए ।