• गृहपृष्ठ
  • मुसहर समुदायको पीडाः मुटु काप्ने जाडोमा न छ न्यानो लुगा, न त पेटभरी खाना

मुसहर समुदायको पीडाः मुटु काप्ने जाडोमा न छ न्यानो लुगा, न त पेटभरी खाना

Jan 4th, 2022


काठमाडौ २० पुस (रासस)

जलेश्वर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छन् ।

उहाँ तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उहाँको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि छन् ।

चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् ।

पुरुषहरू पनि आधा –अधुरा च्यातिएको लुगाफाटाले सकीनसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् । सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै “केही बाँड्ने मान्छे आयो” भन्दै आए ।

हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ हजुरले जे ल्याउनुभएछ, त्यो उनीहरुलाई नै दिदिनुहोस् भन्दै कराए ।

उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै छन् ।

उनले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याएको छ भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राखेको छ । उनका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैन ।

घरभित्रैबाट चिसाले काँप्दै सीताले रुँदै भन्नुभयो, ‘हजुर हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ ९हजुर हामीकहाँ कोही आउँदैनन् । जाडाले मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन० उनले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताए ।

“ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू रु
”, उनले थप पीडा पोख्ए।

उहाँ र उहाँका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसाको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन् ।

त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झोत्रो कम्बल ओढेर काँप्दै थिए । उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा मागे । उनले भने, “हजुर मलाई पनि आफूसँगै लग्नुस्, नत्र यहाँ केही दिनमै मर्छु ।

मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न छोराछोरीले नै मलाई माया गर्छन्”, उनले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भने । उनले तातो र पोषिलो खानाको अभावसँगै आफू दुई८दुई दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गरे।

उनि जस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कोशिला सदा दुई सातादेखि राति सुत्न पाएको छैन । उनले भने, “ दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु ।”

दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिङ्गरको घुर जलाएर सुत्नेगरेको बताउँदै उनले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाए ।

गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उहाँका पति दिनभरि मजदुरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने गर्छन् ।

आधी पैसाले जहानपरिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाले न्यानो लुगाफाटा र पोषिलो खानेकुरा पाएका छैनन् । यस वर्ष मात्रै नभएर वर्षौँदेखि आफूहरूले जाडो याममा यसैगरी समय काट्ने गरेको पाँच सन्तानकी आमा कोशिलाले बताए ।

दिनमा घाम लागे खुशी हुने र साँझ ढल्दै गर्दै दुःखी भई रातभरि घुरमा आगो तापेर रात बिताउने उनको दिनचर्या बनिसकेको छ ।

बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्ती नजिकै धान खेतमा धान बढार्दै गर्नुभएका ७२ वर्षीया भुटीदेवी सदाले पनि टाढैबाट कराउँदै आफ्नो पीडा सुनाउनुभयो, “ ‘हजुर, खान पाएकी छैन ।

घरमा अन्नपात छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन, यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ ।” “कहाँ जाऊँ, के गरूँ र कसरी बाँचूँ ” भन्ने चिन्ताले पिरोलिएका उनि घरी आगो ताप्ने र घरी धान बढार्दै थिए ।

उनले दैनिक रुपमा मजदुरी गरेपछि मात्रै घरमा खानपिनको व्यवस्था हुन्छ । एकदिन पनि मजदुरी नगरेमा सात बालबालिकासहित ११ जनाको परिवारका सबै सदस्य भोकभोकै बस्नुपर्ने उनको दुखेसो छ ।

“अहिले कठ्याँग्रिदो जाडोमा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । काम नपाइएमा परिवारजन भोकै बस्छन्”, भुटीले थपे, ‘हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छु तर अहिले रोजगारी गर्नू कि ज्यान जोगाउनू रु”

उनिसँगै अर्को खेतमा एउटा हातै नभएको ११ वर्षीय बालक पनि धान बढार्दै थिए । किशन सदा नाम गरेका उक्त बालकले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए । कठ्याङ्गिँ्रदै एउटै हातले धेरथोर धान बटुल्दै गरेका उनी पनि परैबाट भन्दै थिए, ‘हजुर, राहतमा मेरो पनि नाम लेखिदिनुस्, मैले पनि दुई दिनदेखि खान पाएको छैन ।

मेरो पनि घरमा आमा, तीन दिदीभाइ र मलगायत पाँच जना छु तर कमाउने कोही नहुँदा एउटै हातले भए पनि काम गरेपछि मात्रै खान पाउँछु ।”

त्यही बस्तीभित्रै सानो खरको झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको छ ।

उसको अभिभावक सिकिन्दर सदा भन्दै थिए, ‘हजुर आफैँ त कठिनसँग जाडो सहन सकिरहेको छु तर यत्रो सानो बच्चालाई कसरी जोगाउनू रु डर हुन्छ कहीँ केही नराम्रो नभइहालोस् ।

घरमा चारैतिरबाट हावा पस्छ । जाडाले मुटु नै हल्लाउँछ । यस्तोमा ओढ्ने, ओछ्याउने नहुँदा मनै रोएर आउँछ । कसैगरी कतैबाट पनि राहत दिलाइदिनुस् ।’

सो बस्तीका ललित, सरोज, वकिल, जोगिया, दिनेश, कृष्णा, सुरेन्द्र, रामस्नेही, सुमिन्त्रादेवी, पवित्रीदेवी, विदेही, मनतोरियादेवी सदासहित १०० परिवार मुसहरको अवस्था त्यस्तै छ ।

जुनसुकै व्यक्तिका घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ । अभावैअभावमा जीवन काटिरहेका उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ ।

चिसो छल्न समयमै उनीहरुलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरासहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुन बेर नलाग्ने बस्तीका अगुवा रजिन्द्र सदाले बताए ।

वडाध्यक्ष रामविलास रायले चिसो पीडितलाई राहत दिन वडामा केही पनि नरहेको बताए । उनले भने, “ मैले चाहेर पनि मुसहरहरूका लागि तत्कालै केही गर्न सक्दिन, वडा सञ्चालनबाहेक हामीसँग कुनै थप बजेट छैन, सबै कार्यक्रम गाउँपालिकामै सीमित छ ।

पीडितको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदै केही गर्ने प्रयास भने अवश्य गर्ने छु । ”

सो गाउँपालिकाका अध्यक्षमा भने रामछविला साह तथा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट सङ्घीय सांसदमा महन्थ ठाकुर र प्रदेश नं २ प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित भएको छ ।

रोग, भोक र कठ्याङ्ग्रिँदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरको उद्धार र राहतका लागि गाउँपालिका अध्यक्ष, सङ्घीय सांसद र प्रदेशसभा सदस्यले अहिलेसम्म कुनै पहल गरेको गुनासो एकै स्वरमा सबै मुसहरले गरेका छन् ।

उनीहरूका अनुुसार अहिलेसम्म कुनै एनजिओ र आइएनजिओसमेत तिनको हालखबर सोध्न वा कुनै किसिमको राहत बाँड्न आएका छैनन् ।

मुसहरहरूले आउँदो निर्वाचनमा आफ्नो बस्तीमा मत माग्न जानेलाई आफूहरुले यसै विषयबारे प्रश्न सोध्ने बताए ।

निर्वाचन भएको चार वर्ष बित्न लाग्दा पनि आफूहरुका लागि अहिलेसम्म जनप्रतिनिधिले कुनै कार्यक्रम नल्याएको र कुनै सहयोग नगरेको बस्तीका अगुवा रजिन्द्रले बताए ।

उनिसहित सम्पूर्ण बस्तीका पीडितले आफूहरूलाई बढ्दै गरेको चिसोबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकार पक्षसमक्ष आफ्ना कुरा पु¥याइदिन सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
–सञ्जीतकुमार मण्डल