• गृहपृष्ठ
  • भारतमा थप ३७ हजार ३७९ संक्रमित, ८९२ जनामा ओमिक्रोन

भारतमा थप ३७ हजार ३७९ संक्रमित, ८९२ जनामा ओमिक्रोन

Jan 4th, 2022

आधारभूमि संवाददाता

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टामा कोरोनाभाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन् ।

गएको २४ घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका पनि जनाइएको छ । तीमध्ये पनि ७६६ जना भने निको भएका छन् ।

सोही अवधिमा थप १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमित संख्याको ०।४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा भारतमा ११ हजार सातजना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना संक्रमण निको भएको छ । भारतमा कोरोनाभाइरस निको हुने दर ९८।१३ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड २४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । एजेन्सी