• गृहपृष्ठ
  • मलमा फोहरी खेल, कृषि सामाग्री कम्पनीका कर्मचारीको मिलेमतोमा अर्बाै भ्रष्टाचार

मलमा फोहरी खेल, कृषि सामाग्री कम्पनीका कर्मचारीको मिलेमतोमा अर्बाै भ्रष्टाचार

Jan 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौं, पुष १९

मल खरिदका क्रममा कृषि सामाग्री कम्पनी लिमिटेडको मिलेमतोमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको पाइएको छ । आइतबार अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र भण्डारीसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार कृषि सामग्री कम्पनीका कर्मचारीहरू र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनेर ल्याउने मात्रै होइन, बिना प्रतिस्पर्धा मलको गुणस्तरसमेत परीक्षण गरिएको पाइएको छ ।

उनीहरूले परीक्षणको गलत प्रतिवेदन बनाएर आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशत जम्मा १ अर्ब ५३ लाख २२ हजार ४ सय रूपैयाँ भुक्तानी पनि गरिसकेका थिए ।

गुणस्तरहीन मल खरिद गरी बिक्री गर्ने भण्डारीसहित प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुस्कर दिप बुढाथोकी समेतले कृषि सामग्री लिमिटेडलाई हानी नोक्सानी र आफूसमेतलाई गैरकानुनी लाभ लिने मनासाय लिई काम गरेको पुष्टि भएको छ ।

यसरी गलत प्रतिवेदन तयार गरेर देखाउनेमा नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेस प्रा.लिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्य पनि यसमा संलग्न रहेको आयोगले पुष्टि गरेको छ।

कम्पनी र आपूर्तिकर्ताबीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको भन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति भएको पुष्टि भएको छ । उक्त आपूर्तिकर्ता जोशी बिज हाउस प्रालिका कार्यकारी निर्देशक विनित जोशीमाथि पनि मुद्दा दायर भएको छ ।

उनीहरूबाट आयोगले एक अर्ब ५३ लाख २२ हजार ४ सय रूपैयाँ बिगो माग दाबी गरिएको छ ।