• गृहपृष्ठ
  • सकियो एक महिने इन्जिनियरिङ खोज अनुसन्धान प्रतियोगिता

सकियो एक महिने इन्जिनियरिङ खोज अनुसन्धान प्रतियोगिता

Jan 2nd, 2022

भक्तपुर, पुस १८
अनिल तिरुवा, आशिष यादव, सरोज चौधरी, सिद्धार्थ यादव र चन्द्रप्रकाश रावलको टोलीद्वारा तयार पारिएको प्याड भेन्डिङ मेसिनले नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्र (कार्ड) को आयोजनामा भएको इन्जिनियरिङ खोज अनुसन्धानमा प्रथम स्थान हासिल गरेको छ । इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्न प्रत्येक वर्ष गरिंदै आएको प्रतियागितामा कृपा थापा, अमरेश शाह र रोहिणी राउतको टोलीले अध्ययन गरी तयार पारेको भिजियोल मिटिग सिस्टम इन एग्रिकल्चर युजिंग इन आइवटी दोस्रो स्थान हासिल गरेको छ । प्रथम र दिद्धीय दुवैलाई एक कार्यक्रमको आयोजना गरी तक्मा, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा सात टोलीले सहभागिता जनाएको थियो । प्रा.सावित्री त्रिपाठी, उप प्रा.दिपेशप्रसाद गुरागाईं, उप प्रा. नरेशप्रसाद दास, ई. सपोज घिमिरे, ई. दर्पण पुडासैनीको निर्णायक मण्डलले टोलीको प्रस्तुति, विषयगत ज्ञान, कार्यशैलीलगायत विषयको मूल्याङ्कन गरी विजेता र उप विजेता घोषणा गरेको हो । सोही अवसर पारेर गरिएको (फोटोग्राफी कम्पिटिशन) मा उप प्रा. श्यामसुन्दर कवां र ई अशोक पाठक दुवैले मूल्याङ्कन गरेर कृपा थापाले पठाएको फोटोलाई उत्कृष्ट घोषणा गरियो ।

नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्र (कार्ड) ले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै प्रतियोगिताको आयोजना गर्दै आएको छ । कर्मालय नाम दिइएको यो प्रतियोगिताको नवौँ संस्करण हो । सबै इन्जिनियरिङ विधाको विद्यार्थीको प्रतिनिधित्व गर्दै मङ्सिर ९ गते सुरु भएको यो प्रतियोगितामा एक महिनाको हुने गर्दछ । यो समयमा भिडियो बनाउन, प्रस्ताव लेख्न, प्रतिवेदन लेख्न प्रस्तुत गर्ने शैली लगायतको विषयमा तालिम दिइन्छ ।समापन कार्यक्रममा कलेजका प्रधानाध्यापक प्रा. डा, हरिकृष्ण श्रेष्ठ, सहप्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, विद्यार्थी कल्याण शाखाका प्रमुख सचिन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूको कार्यमा सहयोग गरेका शिक्षकहरू रुपेश दही श्रेष्ठ, अनिल यादव, दीपेशप्रसाद गुरागाईं, रमेशप्रसाद पुडासैनी, विजय श्रेष्ठ, दिनेश डंगोल, अविनाश खत्री, नरेशप्रसाद दास र विश्वदीप मैनालीले विद्यार्थीहरुले सामाजिक समस्या समाधान गर्न आफूले अध्ययन गरेको विषयवस्तु प्रयोग गर्न सक्षम भएकोमा आफूहरू खुसी रहेको बताए । सो कार्यलाई निरन्तरता दिन विद्यार्थीहरूलाई प्रोत्साहन समेत उनीहरुले गराए ।

कार्यक्रममा बोल्दै प्रा. डा. हरिकृष्ण श्रेष्ठले विद्यार्थीहरुले अतिरिक्त समय सदुपयोग गरी शिप अभिवृद्धि गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको आफूलाई मन परेको र आउँदा दिनमा कलेजले सदाझैँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।