• गृहपृष्ठ
  • भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

Dec 17th, 2021

काठमाडौ, पुस २
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएकाछन । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरुको समस्यालाई सम्वोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको बताए । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील परिचालन गर्ने सरकारको नीति रहेको बताउँदै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको बताए । कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनले बताए । साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रबासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । आ.ब. २०५०/०५१ देखि २०७७/०७८ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका ५६ लाख ६४ हजार श्रमिकले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत छ । ब्यबस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्वृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताए ।