• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित कार्यालय भवन उद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित कार्यालय भवन उद्घाटन

Dec 8th, 2021

काठमाडौ, मंसिर २२
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित कार्यालय भवन बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेकाछन । साथै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरेकाछन ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा सहयोग पुर्यातउने तुलसीभक्त कन्स्ट्रक्सन प्रालिका नवराज श्रेष्ठ तथा प्रहरी नायव उपरीक्षकद्वय सुन्दर लाखे र रोशन सारुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्याईउने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए । नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उहाँले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी उपरीक्षक ई. रामकुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमित बजेटबाट निर्मित ४ तले उक्त भवन कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतूले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । नियो क्लासिकल डिजाईन प्ल्याटफर्ममा आधारित रही तयार गरिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक संरचनामा रहेको छ । नवनिर्मित भवनमा प्रहरी निरीक्षणालय, सवारी महाशाखा, संचार निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा लगायतका कार्यालयहरुबाट कार्य संचालन भइरहेको छ । उक्त कार्यालय भवनको वेसमेन्टमा २ वटा स्टोर रुमहरूको व्यवस्थापन सँगै दुई पाङ्ग्रे सवारी साधन पार्किङको व्यवस्था रहेको छ । वेसमेन्ट बाहेकको ४५ हजार ४ सय १३ वर्गफिटमा फैलिएको उक्त भवनमा कूल १ सय ४ वटा कार्यकक्षहरू, २० वटा शौचालय, ५ वटा चेन्जिङ रुम, ४ वटा स्टोर रुम, ११ वटा बैठक कक्ष र तालिम सञ्चालनको लागि २ वटा कक्षा कोठा रहेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।