• गृहपृष्ठ
  • अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

अखाद्य वस्तु भेटिएपछि बेकरी उद्योगमा ताला

Dec 7th, 2021

दमौली, २१ मङ्सिर /रासस

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो ।

उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा बिक्री–वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उद्योगको अनुगमन गर्दा उद्योगभित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो ।

चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले अन्य समयमा पनि अनुगमनलाई निरन्तरता दिएको बरालले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालकलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । “अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन निरन्तरता दिन्छौँ”, बरालले भन्नुभयो ।

बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाइ पसल, खाद्यान्न पसल, माछामासु पसल, तरकारी पसल र बीउबिजन र दाना पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, दर्ता नवीकरण नगरिएको, म्याद गुज्रिएको उपभोग्य वस्तु बिक्रीयोग्य वस्तुसँगै राखिएको, लेवल नराखिएको, बीउबिजन र विषादी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको भेटिएको थियो ।

मिठाइ पसलमा पनि सरसफाइको कमी देखिएको छ । दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरणका लागि आग्रह गरिएको घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको हो ।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो । भ्यूटावर निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रु ३० लाख सङ्कलन भएको छ । रु ३८ लाख चार हजार ९०० मा निर्माण हुने भ्यूटावरको ठेक्का साराङकोट निर्माण सेवाले पाएको छ । विसं २०७९ वैशाखभित्र भ्यूटावर निर्माण सम्पन्न गर्ने लक्ष्य छ । मिर्छुलुङ गाउँमा सञ्चालित घरबासका लागि पनि स्तम्भले सहयोग पुग्ने थापाले जानकारी दिनुभयो ।

स्तम्भको सोमबार शिलान्यास गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले यसले मिर्छुलुङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । “गाउँमा घरबास सञ्चालन छ, घरबासमा आउने पर्यटकलाई भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवद्र्धन हुन्छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा वृद्धि हुनसके मात्र भ्यूटावर निर्माणको औचित्य रहेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपालको समृद्धिको आधार नै पर्यटन भएको बताउँदै कोभिडले थलिएको पर्यटन व्यवसाय विस्तार लयमा जान थालेकाले पूर्वाधार निर्माण हुन सुखद् रहेको बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले मिछुर्लुङ सुन्दर बस्ती मात्र नभई मगर समुदायको संस्कृतिमा धनी गाउँसमेत भएको बताउँदै भन्नुभयो, “संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।”

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले भिमाद र घिरिङलाई जोडेर समग्र पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने बताउनुभयो । “गाउँबाट भागेका मनलाई गाउँमा ल्याउन आवश्यक छ, त्यसको मुख्य आधार ग्रामीण पर्यटन हो”, उहाँले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कांग्रेस उपसभापति देवकुमार श्रेष्ठले आर्थिक समृद्धिमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।