तीन हजार पर्यटन मजदूरलाई राहत

Dec 1st, 2021

काठमडौँ, १५, मङ्सिर /रासस

नेपाल पर्वतरोहण सङ्घले कोभिड–१९ बाट प्रभावित तीन हजार पर्यटन मजदूरलाई रहत दिने भएको छ ।

सङ्घमा आवद्ध पर्वतारोहीमध्ये आर्थिक रुपमा कमजोर रहेका र कोभिड–१९ बाट प्रभावित भएका उनीहरुलाई राहत दिन लागिएको अध्यक्ष सन्तवीर लामाले जानकरी दिनुभयो । जापानको निप्पोन फाउण्डेसनको सहयोगमा उनीहरुलाई राहत दिन लागिएको हो ।

संस्कृति, पर्यटन तथ नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा आज काठमाडौँमा आयोजित एक समारोहबीच उक्त घोषणा गरिएको छ । अध्यक्ष लामाले आगामी तीन महिनाभित्रमा राहत वितरण गरिसक्ने जानकारी दिनुभयो ।

पर्यटन मजदूरका साथै कुष्ठरोगीका लागि समेत राहत वितरण गरिने जनाइएको छ । निप्पोन फाउण्डेसनले राहत वितरणका लागि दुई लाख १३ हजार डलर ९झण्डै रु दुई करोड ५० लाख० दिने सहमति भएको सो क्रममा जानकारी दिइएको थियो । सङ्घमा आवद्ध ११ हजार मजदूरमध्ये छनोट गरी राहत दिइने छ । मजदूरलाई चामल, दाल, नून, तेल, चिनी उपलब्ध गराइने सो क्रममा जानकारी दिइएको थियो ।

यस्तै सङ्घले कोभिड–१९ उपचारका लागि निर्माण भएको आइसोलेसन केन्द्रमासमेत स्वास्थ्य सामग्री वितरण गरिने छ । त्यस्तै ५०० पर्वतारोहीलाई आरोहणका बेला अत्यावश्यक हुने अक्सिजन सिलिण्डरसमेत दिइने जनाइएको छ ।

समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रभावित मजदूरलाई राहत उपलब्ध गराउन लागिएकोमा सराहना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा राज्यको गम्भीर ध्यान गएको छ भन्नुभयो । उहाँले ज्यान दाउमा राखेर हिमाल चढिमुलुक चिनाउने पर्वतारोहीको खुलेर प्रशंसा पनि गर्नुभयो । उहाँले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने प्रयास गरिरहेका बेला नयाँ भेरियन्टको कोरोनाका कारण पुनः प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गर्नुभयो । नयाँ भेरियन्ट देखिएको मुलुकबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने व्यवस्था सरकारले गरेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री आलेले पर्यटक र अगन्तुकको सुविधाका लागि विभिन्न सुधारका काम मन्त्रालयले सुरु गरिसकेको र त्यही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुलाई बाहिर आउनका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको बताउनुभयो ।

यस्तै वैदेशिक रोजगारमा जानेका लागि विश्रामस्थलको व्यवस्था गरी सुविधा बढाइएको पनि उहाँले जानकारी गराउनुभयो ।